बुटवल । लुम्बिनी प्रदेश सभा अन्तर्गतको अर्थ, उद्योग तथा पर्यटन समितिले गुणस्तरहीन काम र अनियमितता रोक्न कार्यस्थलमा अनुगमन गर्ने निर्णय गरेको छ । नवनिर्वाचित सभापति तारा जिसीको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।
बैठकले सम्बन्धित तीनवटै मन्त्रालयबाट आर्थिक वर्ष २०७८/७९ को वार्षिक कार्यक्रम कार्यन्वयनको अवस्थाबारे विवरण माग गरेको छ । विवरण अनुसार कार्य भए नभएको अनुगमन गर्न तत्काल जिल्लाहरूमा पुग्ने निर्णय भएको सभापति जिसीले जानकारी दिनुभयो ।
समितिको यो पहलले प्रदेश सरकारले करोडौं रकम विनियोजन गरेपनि योजना अलपत्र पार्ने, गुणस्तर र जवाफदेहीताको समस्या र अनियमितता रोक्ने दिशामा एउटा पहल हुने आशा गरिएको छ।
यस्तै, आम जनता र विभिन्न शिर्षकमा उठाएको राजस्व प्रदेश संचित कोषमा जम्मा नगरेको विषय प्रदेशसभामा उठेको हुँदा कुन कुन पालिकाबाट रकम नबुझाएको हो ? मन्त्रालयबाट लिखित जवाफ माग गरिएको छ ।
बैठकले प्रदेशमा दर्ता भएका उद्योगहरूको अवस्थाबारे सम्बन्धित मन्त्रालयबाट पनि जानकारी माग गरेको छ। अन्य प्रदेशका विषयगत समितिहरूको अध्ययन र अनुभवहरू साटासाटको पहल गर्ने समेत निर्णय गरिएको सभापति जिसीले बताउनुभयो ।
लुम्बिनी प्रदेशका रिक्त चार विषयगत समितिले हालै पूर्णता पाएका हुन् । ६ वटा विषयगत समितिमध्ये चारवटा समितिले महिला नेतृत्व पाएका छन् ।
यो पनि : लुम्बिनीको अर्थ, उद्योग तथा पर्यटन समिति सभापतिमा तारा जिसी चयन





