काठमाडौं । मृत्युदण्डको फैसला सुनाइएका पाकिास्तानका पूर्व सैनिक शासक जनरल परवेज मुसर्रफ विरुद्ध त्यहाँको विशेष अदालतले अझ क्रुर फैसला सुनाएको छ । अदालतले मुसर्रफलाई मृत्युदण्ड कार्यान्वयन हुनुअघि उनको मृत्यु भएमा शवलाई घिसार्दै संसदबाहिर ल्याएर तीन दिनसम्म झुन्ड्याउन आदेश दिएको छ ।
मंगलबार उनलाई गम्भीर देशद्रोहको आरोपमा मृत्युदण्ड सुनाएको पाकिस्ताको विशेष अदालतले बिहीबार त्यसको पूर्ण पाठ जारी गर्दै सो आदेश दिएको अन्तर्राष्ट्रिय समाचारहरूले जनाएक छन्।
अदालतले फैसला कार्यान्वयन गर्नुअघि नै मुसर्रफको मृत्यु भएमा उनको शवलाई संसदसम्म घिसार्दै ल्याएर तीनदिनसम्म झुण्डाउन आदेश दिएको हो । मुसर्रफका वकिलले त्यसविरुद्ध पुनरावेदनमा जाने बताएका छन्।
अदालतले प्रशासनलाई हाल दुवईमा उपचार गराइरहेका मुसर्रफलाई देशमा ल्याई सो फैसला कार्यान्वयन गर्न आदेश दिएको हो। ‘तर यदि त्यसअघि नै उनको मृत्यु भएको पाइएमा उनको शवलाई इस्लामावादको डी–चोकसम्म घिसार्दै ल्याउनु र झुण्ड्याउनु’ भनी आदेश दिएको रोयटर्सले जनाएको छ। सो चोक संसद भवनको बाहिरपट्टि रहेको छ ।
कानुनविद् हरुले भने त्यो आदेश सांकेतिक भए पनि असंवैधानिक बताएका छन्। दुबईमा रहेका ७६ वर्षीय मुसर्रफले सो फैसललाई राजनीतिक बदलाको रुपमा आएको बताएका छन्।
को हुन् परवेज मुसर्रफ ?
परवेज मुसर्रफ पाकिस्तानका पूर्वसैन्य शासक हुन् । भारतको नयाँदिल्लीमा जन्मेका मुसर्रफ कराची र इस्तानबुलमा हुर्केका थिए । उनी पाकिस्तानका १० औं राष्ट्रपति हुन् ।
२००१ मा संयुक्त चिफका अध्यक्ष र सेना प्रमुखको पदमा रहँदा उनी सैन्य सरकारको प्रमुख बने । उनले पहिलो युद्ध भूमिको अनुभव दोस्रो कश्मीर युद्धमा खेमकरन क्षेत्रका लागि तीव्र लडाइँमा एक तोपखाना रेजिमेन्टसँग गरेका थिए । द्वन्द्वका क्रममा उनले लाहोर र सियालकोट युद्ध क्षेत्रमा समेत भाग लिए । युद्धका क्रममा उनले गोलाबारी अन्तर्गत आफ्नो प्रतिष्ठा विकास गरेका थिए । वीरताका लागि उनले इम्तियाजी सनक पदक समेत प्राप्त गरेका छन् ।
उनी विरुद्धको देशद्रोहको मुद्धा २०१३ देखि विचाराधिन अवस्थामा थियो । उनलाई सन् २००७ नोभेम्बर ३ मा संकटकाल घोषणा गरेकोमा देशद्रोहको मुद्दा लगाइएको हो। उनलाई संविधानको उल्लंघन गरेको र जवरजस्ती संकटकाल लागू गरेको आरोप लगाइएको छ।
सन् १९९९ मा रक्तहिन सत्तापलट गरेर तत्कालीन सेनाप्रमुख मुशर्रफले नवाज शरिफबाट सत्ता आफ्नो हातमा लिएका थिए। त्यसपछि मुशर्रफले सन् २००८ मा राष्ट्रपति पदबाट राजीनामा दिएका थिए।
उनलाई सन् २०१४ मार्च ३१ मा देशद्रोहको अभियोग लगाइ अभियोजनकर्ताहरुले सोही वर्षको सेप्टेम्बरमा सम्पूर्ण तथ्य विशेष अदालतमा पेश गरेका थिए । परवेज मुसर्रफमाथि आरोप लागेपछि उनी एक पटक मात्र न्यायालय समक्ष हाजिर भएका थिए । त्यसपछि उनी आजसम्म अदालतमा हाजिर हुन पुगेका छैनन् ।
पूर्वसैनिक प्रमुख समेत रहेका पूर्व राष्ट्रपतिमाथि पाकिस्तानको संविधानलाई सेनाको बलमा गैरकानुनी रुपमा निलम्बन गरी संकटकाल लागू गरेको आरोप लगाइएको थियो ।
पाकिस्तानको इतिहासमा मुसर्रफ पहिलो त्यस्तो व्यक्ति हुन्, जसमाथि संविधानको अवहेलना गरेकोमा मुद्दा दर्ता भयो । सन् २०१६, मार्च १८ मा उपचारका लागि मुसर्रफ दुबइ गएपछि उक्त मुद्दामाथि सुनुवाइ रोकिएको थियो । कम्मरको दुखाइबाट छुटकारा पाउन उनी दुबइ उपचारमा गएका थिए । उपचारपछि पुनः पाकिस्तान फर्केर आफूविरुद्ध लागेको मुद्दाको सामना गर्ने उनले बताएका थिए ।
मार्च २०१६ मा विशेष न्यायालयले केन्द्र सरकारसँग लिखित स्पष्टिकरण मागेको थियो । न्यायालायको अनुमति विना विदेश गएका मुसर्रफमाथि आपत्ति जनाउँदै लिखित जवाफको माग गरिएको हो ।
मुशर्रफलाई पाकिस्तानी सेनाको साथ
पाकिस्तानी सेनाले पूर्वराष्ट्रपति तथा सेना प्रमुख परवेज मुशर्रफलाई मृत्युदण्डको सजाय दिने अदालतको फैसलाप्रति आक्रोश व्यक्त गरेको छ। पाकिस्तानी सेनाले मुशर्रफको पक्ष लिँदै विज्ञप्ति जारी गरेको हो ।
पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले जारी गरेको विज्ञप्तिमा मुशर्रफ कहिल्यै देशद्रोही हुन नसक्ने भन्दै अदालतको फैसलाले सेनालाई धक्का लागेको जनाएको छ । देशको लागि ४० वर्ष सेवा गरेका उनलाई मृत्युदण्डको फैसला हुनु पाकिस्तानको संविधानविपरीत भएको सेनाले दाबी गरेको छ ।
‘एक पूर्वसेना प्रमुख तथा पूर्वराष्ट्रपति, जसले ४० वर्षभन्दा बढी समय देशको सेवा गरिसकेका छन्, देशको रक्षाका लागि लडे, कहिल्यै पनि देशद्रोही हुन सक्दैन,’ सैनिक प्रवक्ता गफूरले भनेका छन् ।
सेनाले मुशर्रफलाई अदालतमा आफ्नो बचाउ गर्न पाउने अवसरसमेत नदिइएकोमा आपत्ति जनाउँदै संविधानअनुसार प्रतिरक्षा गर्ने व्यक्तिको आधारभूत अधिकार भएको उल्लेख गरेको छ। अदालतले ठोस सुनुवाई नगरी हतारमा फैसला सुनाएको सेनाको आरोप छ।
पाकिस्तानमा बदलाको राजनीति, अदालत र सेना हावी
८ लाख ८१ हजार वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको पाकिस्तानमा अहिले झन्डै २१ करोडभन्दा बढी जनसंख्या रहेको छ । दक्षिण एसियाको दोस्रो ठूलो मुलुक पाकिस्तान पछिल्लो समयमा आतंकवादीका कारण सताइएको छ । भारतबाट सन् १९४७ अगस्टमा छुट्टिएर बनेको पाकिस्तानको अहिलेसम्म पनि भारतसँग मित्रवत सम्बन्ध बन्न सकेको छैन ।
पाकिस्तानमा कुनै पनि प्रधानमन्त्रीले आफ्नो कार्यकाल पुरा गर्न पाएका छैनन् । बारम्बार सैनिक ‘कु’ हुने गरेको पाकिस्तानमा एक पछि अर्को गर्दै पुर्व सरकार तथा राष्ट्रप्रमुखहरु जेल जाने गरेका छन् ।
पाकिस्तानी स्वतन्त्रता भारतभन्दा एक दिन जेठो छ । लामो समय बेलायती उपनिवेशमा रहेको भारत स्वतन्त्र हुने एक दिन अघि नयाँ मुलुकका रुपमा पाकिस्तानको जन्म भयो । १४ अगष्ट १९४७ मा पाकिस्तान भारतबाट छुट्टिएको हो । मुलुकको स्वतन्त्रता र लोकतन्त्रको लडाई लडिरहेको भारतसँग छुट्टिएको पाकिस्तानले नयाँ मुलुकको हैसियतमा स्वतन्त्रता त प्राप्त गर्यो । एउटा नयाँ मुस्लिम मुलुकको हैसियत पनि बनायो तर लोकतन्त्रलाई कहिल्यै संस्थागत गर्न सकेन । पटक पटकको सैनिक शासन र असफल सरकारहरुका कारण पाकिस्तानको राजनीतिक इतिहास उत्साहजनक रहेन ।
पाकिस्तानी स्वतन्त्रताका सेनानी तथा पाकिस्तानका पहिलो प्रधानमन्त्री लियाकत अलि खाँ र सैनिक प्रमुख मोहम्मद अलि जिन्हाले लामो शासन गर्न पाएनन् । सैनिक प्रमुख जिन्हाको १९४८ मा नै मृत्यु भयो भने १९५१ मा नै पहिलो निर्वाचित प्रधानमन्त्री लियाकत अलि खाँलाई अपदस्थ गर्ने असफल प्रयास गरियो । पाकिस्तानको लोकतन्त्र यसपछिका ७० वर्ष सम्म पनि यही नियति भोगिरहेको छ । त्यतिबेला फेरि लोकतन्त्र फर्कियो, जतिबेला पूर्वी पाकिस्तान विभाजनको संघारमा थियो । जुिल्फकर अलि भुट्टो प्रधानमन्त्री भए र सैनिक थुनामा रहेका शेख मुजिबुर रहमानलाई मुक्त गरे । तर उनै मुजिबुर रहमानले पूर्वी पाकिस्तानलाई बंगलादेशका रुपमा छुट्याएर लगे ।
१९७३ मा याँ संविधान जारी गरेर संसदीय लोकतन्त्र फर्काएका जुल्फिकर अलि भुट्टोलाई १९७७ मा फेरि सैनिकले अपदस्थ ग¥यो । पाकिस्तानको लोकतन्त्र अर्को एक दशकका लागि अपहरित भयो । जनरल जियाउल हकले त्यसबेलासम्म शासन गरे, जबसम्म उनी हवाइजहाज दुर्घटनामा मारिएनन् । पाकिस्तानी स्वतन्त्रता दिवसको तेस्रो दिन १७ अगष्ट १९८८ मा जियाउल हक हवाइ दुर्घटनामा मारिए ।
विपक्षीहरुको हत्या गरेको अभियोगमा भुट्टोलाई फाँसी दिने उच्च अदालतको फैसलालाई सन् १९७९ मा सर्वोच्च अदालतले सदर ग¥यो । यस अघि जनरल जियाउल हकले भुट्टोका आलोचक मस्ताक हुस्सेनलाई भुट्टो बिरुद्ध छानवीन गर्ने जिम्मेवारी दिएका थिए । मुस्ताककै प्रतिवेदनका आधारमा भुट्टो बिरुद्ध अदालतमा मुद्दा चलाइएको थियो ।
भुट्टोलाई फाँसीको सजायँ दिइएको घटनाले नेपालको राजनीतिलाई पनि तरंगित गर्यो । फाँसी बिरुद्ध नेपालमा रहेको पाकिस्तानी दूतावासमा बिरोधपत्र बुझाउन गएका विद्यार्थीलाई प्रहरीले धरपकड गर्यो । यसको बिरोधमा विद्यार्थीहरु आन्दोलित भए । गोरखापत्र संस्थान र नेपाल वायुसेवा निगममा आगजनीका घटना समेत भए । घटनाले अराजक मोड लिएपछि २०३६ साल जेठ १० गते राजा वीरेन्द्रले निर्दल र बहुदलका बीच जनमत संग्रह घोषणा गरेका थिए ।
जियाउल हकको त्यसबेला हवाइ दुर्घटनामा मृत्यु भयो, जतिबेला संसारभर लोकतन्त्रका पक्षको आन्दोलनको लहर चलेको थियो । हठात पाकिस्तानमा लोकतन्त्र फेरि फर्कियो । १९९० को दशका बिश्वभर आएको लोकतन्त्र अधिकांश मुलुकमा चलिरहेकै छ तर पाकिस्तानमा भने सैनिक बिद्रोह र लोकतन्त्र अझै लुकामारी गरिरहेकै छन् । १९८८ मा आम निर्वाचनबाट निर्वाचित प्रधानमन्त्री बेनजीर भुट्टो दुई वर्षमा नै भ्रष्टाचारको अभियोगमा सत्ताच्यूत गरिइन् । त्यसपछि प्रधानमन्त्री नियुक्त भएका नवाज शरिफ सैनिक दवावमा राजीनामा दिन वाध्य भए पछि बेनजीर फेरि प्रधानमनत्री भइन । यसरी बेनजीर भुट्टोको पाकिस्तान पिपुल्स पार्टी र नवाज शरीफको मुस्लिम लिगको सत्ताको लुकामारी १९९९ सम्म चलिरह्यो ।
१९९९ अक्टोवरमा जनरल परवेज मुसर्रफले सैनिक बिद्रोह गरेर शासन हातमा मात्र लिएनन्, शरीफलाई अपहरण र आतंककारी गतिविधि गरेको अभियोगमा आजीवन कारावासको सजायँ सुनाइयो । प्रवास जाने शर्तमा एक वर्ष पछि रिहा भएका शरीफ साउदी अरेबिया गए । पति आसिफ अलि जर्दारीलाई भ्रष्टाचारको अभियोगमा थुनामा राखेपछि बेनजीर भुट्टो १९९९ मा नै बेलायत प्रवासमा गएकी थिइन् ।
२००७ मा प्रधानन्यायधीश इफ्तिखर मोहम्मद चौधरीलाई निलम्वन गरेको घटनाले बिरोधको ठूलो रुप लियो । यही मौका पारेर बेनजीर स्वदेश फर्किएपछि राजनीतिले नयाँ मोड लियो । नवाज शरीफ पनि यही मौकामा स्वदेश फर्किए । त्यसै वर्ष चुनावी र्यालीमा बेनजीरको हत्या भयो । पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) र मुस्लिम लिगको गठबन्धन सरकारमा पीपीपीका युसूफ रजा गिलानी प्रधानमन्त्री भए । २००८ अगष्टमा मुसर्रफ राष्ट्रपतिबाट राजीनामा दिन बाध्य भएपछि बेनजीरका पति आसिफ अलि जर्दारी राष्ट्रपति निर्वाचित भए ।
२०१२ जुनमा सर्वोच्च अदालतले प्रधानमन्त्री गिलानीलाई अयोग्य घोषित ग¥यो । एक वर्ष पछि भएको आम निर्वाचनमा मुस्लिम लिगले फेरि विजय पायो र नवाज शरीफ फेरि सत्तामा फर्किए । निरन्तर चार वर्ष प्रधानमन्त्री भएका शरीफलाई सर्वोच्च अदालतको आदेशबाट २०१७ अगष्टमा भ्रष्टाचारको अभियोगमा पदमुक्त गरिए । आम निर्वाचन हुन एक वर्ष बाँकी हुदा मुस्लिम लिगकै शाहिद खाकन अब्बासी पाकिस्तानको प्रधानमन्त्री भए ।
सन् २०१८ मा भएको आम निर्वाचनमा पूर्व क्रिकेटर इमरान खान प्रधानमन्त्री निर्वाचित भए । सादा जीवन अपनाएका कारण खान विश्वभर चर्चित छन् । यही बिचमा पूर्व प्रधानमन्त्री नवाज सरिफ भ्रष्टाचारको आरोपमा जेल जीवन बिताउँदैछन् । पाकिस्तानमा अदालत र सेना हावी हुँदा लोकतन्त्र फस्टाउन सकेको छैन ।