काठमाडौं । पाकिस्तानी सैनिक अदालतले पूर्व सैन्य शासक जनरल परवेज मुसर्रफलाई मृत्युदण्डको सजाय सुनाएको छ ।पाकिस्तानको इतिहासमै पहिलोपटक सैनिक शासकलाई मृत्युदण्डको सजाय सुनाएको हो । त्यहाँको विशेष अदालतको तीन–सदस्यीय इजलासले मुसर्रफलाई देशद्रोहको आरोपमा मृत्युदण्डको फैसला सुनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
पेशावर उच्चअदालतका प्रधानन्यायधिस वकर अहमद सेठको नेतृत्वको इजलाशले मंगलबार सो मृत्युदण्डको आदेश सुनाएको पाकिस्तानी सञ्चारमाध्यम डनले जनाएको छ ।तत्कालिन सैन्यप्रमुख युनाइटेड अरब इमिरेट्सको दुबईमा बस्दै आएका कारण उनको अनुपस्थितिमा यो फैसला सुनाइएको हो ।
विशेष अदालतले आज सो मुद्दाको फैसला दिने घोषणा गरे पनि सरकारी वकिलले भने अन्य तीनजना लाई पनि छानविनमा ल्याउन आग्रह गरेको डनले जनाएको छ ।उनीहरुले पूर्वप्रधानमन्त्री शौकत अजिज, सर्वोच्च अदालतका पूर्वप्रधान न्यायधिस अब्दूल हमिद दोगर र पूर्व कानूनमन्त्री जाहिद हमिदलाई समेत सोहि मुद्दामा उनलाई सहयोग गर्ने आरोपीको रुपमा छानविन गर्न माग गरिएको छ ।सरकारी वकिलहरुका अनुसार शौकत अजिजले मुसर्रफलाई इमरजेन्सी लगाउन भनेका थिए ।
तत्कालिन सेना प्रमुख मुसर्रफले सन् १९९९ मा सैन्य कू गरी ९ वर्षसम्म एकलौटी शासन चलाएका थिए । त्यसपछिको आमनिर्वाचनमा उनको दल हारेपछि मात्र उनी सत्ताबाट हटाइएका हुन् ।
सेनाप्रमुख रहेका मुसर्रफले सैन्य कू गरी पहिले आफैंलाई कार्यकारी प्रमुख र त्यसपछि राष्ट्रपति घोषणा गरेका थिए । त्यसपछि उनले आर्थिक विकास गरी त्यसको जस लिन खोजेपनि चुनावमा जनताले साथ दिएनन् । त्यसपछि उनी विदेशमा बस्दै आएका छन् ।–एजेन्सी
