काठमाडौं । नेपाल पूर्वाधार बैंकले चालु आर्थिक वर्ष भित्रै विदेशबाट ५ अर्ब रुपैयाँ भित्र्याउने जनाएको छ । विदेश वित्त बजारमा ऋणपत्र जारी गरी सो रकम भित्र्याउने योजना बैंकले सार्वजनिक गरेको हो ।बैंकको आइतबार बसेको साधारणसभामा बैंकका अध्यक्ष अनुज अग्रवालले विदेशमा रहेका वित्त बजारमा ५ अर्ब रुपैयाँ बराबरको र नेपालमा २० अर्ब रुपैयाँ बराबरको ऋणपत्र निश्कासन गर्ने बताए ।
२०७५ फागुन २२ गते देखि औपचारीक रुपमा सञ्चालनमा आएको यो बैंकले आर्थिक वर्ष २०७५/०७६ मा कुनैपनि पूर्वाधार तथा परियोजनामा लगानी गर्न सकेको छैन । अध्यक्ष अग्रवालले बैंकले लगानीका लागि पूँजी निर्माण र लगानीका लागि परियोजनाको छनोटको विषयमा काम गरिरहेको बताए ।
पूर्वाधार विकास बैंकले अहिलेसम्म कास्की जिल्लामा रहेको ३२ मेगावाटको करुवा सेती र ४९ मेगावाटको मिडल मेवा जलविद्युत आयोजनामा कर्जा प्रवाह गरेको छ । यी आयोजनामा करिब ३ अर्ब लगानी स्वीकृत गरेको बैंकले जनाएको छ । बैंकको साधारणसभाले कुल पूँजीको ४० प्रतिशत अर्थात ८ अर्ब रुपैयाँ बराबरको साधारण शेयर निष्काशन गर्न गर्नुपर्ने सबै कामका लागि सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय गरेको छ।
यो प्रकृया पुरा भएपछि बैंकको चुक्ता पूँजी १२ अर्बबाट बढेर २० अर्ब रुपैयाँ पुग्ने छ । त्यस्तै बैंकको प्रतिशेयर आम्दानी ६ रुपैयाँ १० पैसा र प्रतिशेयर नेटवर्थ १ सय ६ रुपैयाँ ५७ पैसा रहेको छ ।