लक्ष्मण बेलबासे ##
भात चिसो भइसकेको छ । तरकारी भर्खर उम्लिएको छ । तातो र चिसोको समिश्रण ठिकै मान्नुपरेको छ । हरि खाना खान थाल्छन् । टिभी हेर्दै खाना खाने अब आदत जस्तै भइसकेको छ ।
टिभी चलिरहेको छ । देशैभरि चुनावको सरगर्मी पनि बढेको छ । टिभीको काम झनै बढेको छ । चुनावलाई पनि पछि पार्दै अर्को समाचार ट्रेन्डिङमा परेको छ । त्यो अहिले सबैभन्दा भाइरल भएको छ ।
देश टाट पल्टिसक्यो । भिरको टुप्पोमा पुगिसक्यो । वश अब स्थायी सरकार । अस्थायी सरकार र छाया सरकार मिलेर एक लात्ती हान्न मात्र बाँकी छ । अनि, गुटुङटुङ पल्टिहाल्छ । अर्थमन्त्री र गभर्नर बल गरिरहेका छन् । किन र कसरी भिरको टुप्पोमै पुग्यो ? जनता उत्तेजित छैनन । बजार भाउ आकासिएको छ । कालाबजारी सुरु भइसकेको छ । यहाँ जवाफ माग्ने र उत्तर दिने चलन पहिलेदेखि छैन । जनताको ध्यान भिरको टुप्पोतिर खिचिएको छ । खेल अरू पनि खेलिँदै छ ।
सबै राजनीतिक दलले पुराना अर्थात् अघिल्लो चुनावमा घोषणा गरेका घोषणापत्रमा के लेखिएको थियो ? सम्पूर्ण बिर्सिसकेका यो बेला फेरि अर्को लेख्नुपर्ने भए को छ ? नयाँ लेख्नकै लागि पनि पुरानो चाहिएको छ । कहिलेकाँही यही टिभीले सोध्यो भने मात्र हो । होइन भने जनताले घोषणापत्र हेरेर भोट हालेको पनि होइन । त्यसैले होला, घोषणा गरेका प्रतिबद्धता के कति पूरा भयो भनेर पार्टी र नेतालाई सोध्ने पनि होइन ।
त्यसैले सबैले अब पनि पुरानोकै सहरा लिएर नQयाँ तयार पार्ने मात्र त हो । प्रतिबद्धता पूरा गर्न यहाँ कोही बाध्य छैन । घोषणाका लागि घोषणा गर्ने त हो । पार्टीलाई पनि धेरै मिहिनेत गर्नुपर्ने छैन । चुनावको चर्चासँगै हरिनाथको मनमा यस्तै कुरा खेलिरहेका छन् ।
केही वर्षअगाडि सम्म संसद ठुलाबडा सामन्त र पुँजीपतिहरूको गफ गर्ने थलो मात्र हो । संसदीय व्यवस्थाबाट गरिब किसान तथा मजदुरका समस्या हल हुन सक्दैन भन्दै यही भनाइलाई आत्मसात गरेर जीवनमरणको लडाइँमा सहभागी पनि भएका थिए । त्यही सहभागिताको जगमा आम जनताको सहयोगमा देशमा गणतन्त्र आयो । जहानियाँ शासनभन्दा धेरै प्रगतिशील भए पनि व्यवस्था मात्र बदलियो । शासनसत्ता पुरानै पुँजीपति वा सामन्तकै वरिपरि घुमिरह्यो । उनीहरूकै सेवा गरिरह्यो । जो अवस्था बदल्ने गरी सत्तामा गए, तिनीहरू नै सत्ता र पुँजीको रसस्वादन गर्दागर्दै आफै पुँजीपति भइदिए । अब यो व्यवस्था उनीहरूकै अनुकूलको भएको छ ।
हिजोका ठुला ठुला कम्युनिस्ट पार्टी नै आजका सानाठुला संसदीय पार्टी भएका छन् । सबै कुरा बिर्सिएर संसदीय अभ्यासमा लागिपरेका छन् । हुन त कम्युनिस्टलाई कार्यनीतिका रूपमा यी सबै गर्न छुट पनि छ तर वास्तविकता अर्कै हुँदै गएको छ । चुनावी सफलता नै अब रणनीति भइसकेको छ । पुँजीवादले यस्तो बनायो । अब चिडियाखानाको बाघ जस्तै कम्युनिस्ट हुन थालेका छन् । सिकार गर्ने क्षमता गुमाइसके जस्तो । चिडियाखानाको बाघले सोच्दछ । ठुलो जङ्गल पनि यही हो र यहाँको शेर पनि उही हो । ऊ त अझ सुधारिएको । अब उसले आफ्नो आहाराका लागि कसैको हत्या गर्नुपर्दैन । ऊसँग अब कोही डराउँदैन । उसैलाई हेर्न दुनियाभरका मान्छे कोसेलीसम्म लिएर आउँछन् । तर उसलाई लाग्छ, ऊ बाघ हो, अझै पनि मासुबाहेक अरू केही खाँदैन ।
संसदीय अभ्यासमा आवधिक चुनाव यसको मेरुदण्ड हुने गर्दछ । यो पुँजीवादको सबल पक्ष पनि हो । पुँजीपतिका लागि आफू जनानुमोदित भएको प्रमाण र सुनपानी पनि यही चुनाव हुने गर्दछ । हुन त कम्युनिस्टहरूले संसदीय अभ्यासबाट अवस्थामा परिवर्तन ल्याउन सकिँदैन भन्ने कुरामा विश्वास गर्नुपर्ने हुन्छ तर पनि यहाँ यिनै कम्युनिस्ट पार्टीहरू नै सच्चा संसदीय पार्टी भइसकेका छन् । अब उनीहरूकै लागि पनि उनीहरूकै भाषामा भन्नुपर्दा यही बुर्जुवा चुनाव नै सुनपानी भएको छ ।
विश्वमै समाजवादी धार रक्षात्मक अवस्थामा पुगेको यसको वास्तविकता हो तर पनि हाम्रो संविधानमा समाजवाद लिखित रूपमा नै आइसकेको छ । यसले बताउँछ, हाम्रो गन्तव्य समाजवाद नै हो तर हाम्रो समाजवाद कस्तो हुने र कसरी समाजवादसम्म पुग्ने ? कुन बाटोबाट पुग्ने ? कतै व्याख्या भने पाइँदैन ।
सच्चा कम्युनिस्ट संसद्को बाटो साँच्चिकै समाजवाद र साम्यवादसम्म पुग्ने कुरामा विश्वास पनि गर्दैनन् । यो माक्र्सवादी–लेनिनवादी बाटो हुनै सक्दैन । विश्वभरका पुँजीवादी देशहरू समाजवादी अर्थात् साम्यवादीहरूलाई सिध्याउने तहमै उत्रिएको यो बेला जनमत अर्थात् क्रन्तिकारी विचारलाई जोगाइराख्न कठिन पनि छ । यही प्रतिकूल अवस्थामा यही व्यवस्थालाई अधिकतम उपयोग गरेर जनताका जनजीविका तथा तिनका अधिकारको सुनिश्चितता र यो व्यवस्थाको भण्डाफोर नै चुनाव उपयोगको कार्यनीति हो । विश्वभर मार्सल् प्लान अहिले पनि विभिन्न रूपमा सक्रिय नै छ । भर्खरै नेपालको संसद्बाट पास भएको एम.सी.सी. पनि यही योजनाको परिणाम हो तर कम्युनिस्टकै रणनीति चुनावदेखि चुनावसम्म बनेको यो बेला अरूका लागि यो झनै ठुलो उत्सव हुने नै भयो ।
पहिले पहिलेका चुनावको पनि अनुभव लिइसकेका हरिलाई यो नौलो विषय पनि होइन र संसदीय अभ्यासमा विश्वास नभएका कारण धेरै रुचि पनि छैन र पनि पार्टीको निर्देशनलाई शिरोधार्य गर्न उनी नैतिक रूपमा बाध्य छन् ।
सम्पूर्ण सञ्चारका माध्यम अब यही विषयमा केन्द्रित हुन थालेका छनु । सर्वत्र चुनावकै चर्चा हुन थालिसकेको छ । कम्युनिस्ट पार्टी नीति, सिद्धान्त, वाद र विचार सबैलाई पोको पारेर सन्दुकमा राखेर अनुकूलतामा खोलौँला भनी चाबी लगाएर राखेको यो बेला विचार, वाद र सिद्धान्तका कुरा गर्नु गर्मीमा आगो ताप्ने जस्तो लाग्छ उनलाई । पुँजी हुनेहरूको यो जुधाइमा भुइँ मान्छेको भुमिका उनीहरूको गतिलो या अप्ठेरो ग्राहक बन्नु मात्रै त हो । मनमनै कुरा खेलाउँछन् हरि । अघिल्लो पालि पनि यस्तै भएको हो । अब हुने पनि फरक हुने कुरै भएन ।
धेरै पछि आज फेरि हरिको ढोका कसैले ढकढक्याएको छ । हरि अलमलमा पर्छन् । भाडा बुझाउने बेला त भएको छैन । को आयो त भन्दै ढोका खोल्छन् ।
आश्चर्य लाग्छ, कहिल्यै यहाँसम्म नआउने पुराना मित्र गोपीनाथ रहेछन् । गाडी राख्ने ठाउँ नभएर कस्तो ठाउँमा बसेको भन्दै भुन्भुनाउँदै भित्र पस्छन् । हरि स्वागतसँगै अभिवादन टक्याउँछन् । अँध्यारो र त्यो सानो कोठा भान्सा र सुत्ने एकै ठाउँमा छ । गोपीनाथलाई केही समय बस्न पनि अप्ठेरो भइसकेको छ तर पनि मनको व्यथा बिसाउँदा केही खुकुलो होला भनेर बसेका छन् । त्यही पनि भनिहाल्छन् । हरि कस्तो ठाउँमा बसेको ? गाडी पार्क गर्ने ठाउँ पनि छैन । भ¥याङ उक्लिँदै कता कता ठोक्किएला भन्ने डर ।
हरि पानी खाऊँ भनेर सोध्दै अवस्थालाई सहज बनाउने कोसिसतिर लाग्छन् । मनमनै भन्छन्– नयाँ वर्गशत्रु आज यहाँसम्म आएछन् ।
उता, गोपीनाथ पनि मनमनै सोच्दछन् । यत्रो वर्ष राजनीति गरेर पनि केही गर्न नसक्ने यही हरि जस्ता मात्रै हो । अहिलेसम्म पनि भाडामा, त्यो पनि यस्तो थोत्रे घरमा ।
दुवै जना हरिको बिस्तरामै बसेका छन् । सामान्य भलाकुसारीपछि गोपी विषयवस्तुभित्र पसेका छन् । समस्या दर्साएका छन् ।
गोपीनाथलाई लागेको छ, अहिले आएर पार्टीले धोका दिएको छ ।
हरि अचम्म मान्दै सोध्छन्– “कसरी” ?
गोपी भन्छन्– “अध्यक्षको चुनाव खर्चसमेत मैले ब्यहोर्छु र अरू धेरै लगानी पनि गर्न सक्छु भन्दा पनि अझै अर्को मभन्दा पनि कनिष्ठ नयाँ ठेकदारलाई जिम्मेवारी दिन्छन् जस्तो छ । हिँजो सँगै जीवनमरणका लडाइँ लडेका क्रान्तिकारी हामी । टिकट हिँजोका नवप्रवेशी, नवधनाढ्यको हातमा अनौठो भयो । त्यसैले तपाईंहरूले सहयोग गर्नुप¥यो ।”
सुनेरै हरि दङ्ग पर्छन् । हरि नाजवाफ हुन्छन् ।
पहिलेकै चुनावमा अन्तर्घातको नमुना बनेका गोपी गतिला अवसरवादी पनि हुन । पहिलेकै चुनावमा आफ्नै कमरेडलाई हराउन अर्को प्रतिस्पर्धीबाट मोटो रकम लिएर छद्मभेषी रूपधारण गर्दै प्रतिपक्षीलाई जिताएर अझै धनी भएका गोपी अहिले बडो इमान्दार बनेर अर्को अवसर हात पार्न खोजेका छन् । अहिले गाईको पुच्छर समाएर वैतरणी तर्न जुरेको यो अवसर पनि आफ्नै पोल्टामा पार्न लागिपरेका छन् ।
सबै कुरा बुझेका हरि नबोली बस्छन् । धेरै बेर नबोली घोरिइरहन्छन् । अन्ततः हुन्छ÷हुन्न केही नभनी गोपीनाथलाई बिदा गर्दछन् । गोपी पनि सहयोगको अपेक्षा राख्दै बिदा हुन्छन् । यसै पनि धेरै बेर बस्न उनलाई अप्ठेरो भएको थियो ।
हरि उसैगरी खाटमा पल्टिन्छन् । जिउमा आलस्यता बढेको छ तर पनि निदाउन सकेका छैनन् । अब मनमा कुरा खेल्न थालेका छन् ।
विचार गर्छन्, बेहोसी नै बनेर नेताहरू गरिब किसानको भावनासँग खेलिरहेका छन् । गरिबको प्रतिनिधित्व गरेर हिँजो सत्तामा पुगेको मध्यमवर्ग पनि पुँजीपति वर्गमै रूपान्तरण भइसकेका छन् । भुइँमान्छे यहाँ कसैको नजरमै परेका छैनन् । यहाँ राजनीति गर्न सबैलाई गरिब, हेपिएका, दबिएका मान्छेहरू नै उर्वर हुने गरेका छन् । लडाइँको अग्रभागमा जानलाई तथा भोट बैङ्क पनि मूलतः उनीहरू नै हुन्छन् । यो वर्ग अशिक्षा र गरिबीकै कारण सहजै प्रभावित पनि हुने गर्दछ । झुटा आश्वासन पनि सत्य नै ठान्ने यो वर्गका मत किन्ने र भावनासँग खेल्ने काम नेताले धेरै गरिसकेका छन् ।
यस्तै कुरा खेल्दै गर्दा उनका नजर नजिकै रहेको ‘माओका चुनिएका रचना’ भन्ने पुस्तकमा पर्छ । पुस्तक हातमा लिएर पल्टाउन थाल्छन् । किताब पनि अल्छी गरेरै पढ्न थालेका छन् ।
उनलाई लाग्छ, चीनमा जस्तै अहिले अबोध भनेको वर्गसचेत हुँदै आफ्नै भूमिमा हामीमाथि शोषण गर्दै मोटाएका वर्गमाथि धावा बोल्न थाले के होला ? अझ यिनै शोषित–पीडित वर्गको मुक्तिको नाममा राजनीति गर्ने कम्युनिस्ट पार्टीको अवस्था कस्तो होला ? कल्पना जस्तो लाग्ने यो विषय वास्तविकतामा बदलिन के बेर ? दिनरात मिहिनेत गर्ने किसानले उत्पादनको उचित मूल्य नपाउने र श्रमजीवी मजदुरहरूले दिनभरि काम गरेर एक दिन खाना नपुग्ने ज्याला र त्यसमै पनि रोजगारी नपाउनुको अर्को पीडा । जब यी सबै कुरा एकमुष्ठ विस्फोट हुने छ, हातमा औजार लिएर जाइलाग्ने यो वर्गको आक्रोशको अगाडि यही वर्गको भोट र भावनासँग खेल्दै नवधनाढ्य बनेको तथा पुरानै यो समाजको उपरी वर्ग भन्न रुचाउने वर्गको सेनापुलिस पक्कै फिक्का हुने छ । दिनभरि खेतबारीमा लडेर मूल्य नपाउने किसान र दिनभरि काम गरेर बेलुका खान नपुग्ने ज्याला पाउने मजदुर जब दुध बाटोमा पोख्दै र खेती खेतमै फालेर सडकमा आउने छन्, त्यो बेला त्यो आक्रोशको निशाना पाँच रुपैयाँमा किनेको काउली सय रुपैयाँमा बेच्ने यही राज्यव्यवस्था हुने छ; विदेशी उत्पादनलाई ढोका खुला राखेर स्वदेशी उत्पादन डुबाउने शासक वर्ग हुने छ ।
गरिब र किसानको स्वदेशी उत्पादन महङ्गो हुने र आयातित उत्पादन सस्तो हुने यस्तो विडम्बनाबाट मुक्तिको प्रयास गरिब किसानले पक्कै पनि गर्ने छन् । जवाफ यही नेतृत्वले दिनुपर्ने छ । हिँजो हजारौँ गरिब किसान मजदुर तथा सीमान्तकृत तथा उत्पीडित र उपेक्षितको बलिदान र हुँङ्कारले दुला पसेकाहरूले आजै यति चाँडै खुलामञ्चबाटै खुलमखुल्ला गणतन्त्रलाई चुनौती दिने हिम्मत जुटाएका छन् । यो सबैको कारक को हो ? परिवर्तनका बाहक तिनै गरिब किसानले जवाफ माग्ने छन्, यही नेतृत्वसँग ।
उनलाई लाग्छ, त्यति बेला एैजरु जस्तै पलाएका धनी कम्युनिस्ट र खराब पुँजीपतिको पुँजीको संरक्षण गरिदिने तागत कसैमा हुने छैन ।
अवस्थाले अहिलेका यिनै अबोध भनिएका गरिब किसान कालभैरव हुने छन् । त्यति बेला यिनीहरूको पुँजीले यिनीहरूकै संरक्षण गर्न सक्ने छैन ।
हिजो आफूलाई कम्युनिस्टबाट कमाउनिस्ट बनाउँदै गएका कम्युनिस्टको अवस्था कमजोर भएको छ । झुटका पर्दा च्यातिदै जाँदा सबैका वास्तविक मुखौटा देखिन थालेका छन् । जनताले ठुलाबाट साना पार्टी बनाइदिएका यी पार्टीलाई सत्ताको लोभ अझै हराएको छैन । हिजो आफैले प्रधान शत्रु भनेर ठुला ठुला अक्षरले दस्तावेजका पाना भरेका नेता आजै कार्यनीतिको दुहाइ दिँदै त्यही प्रधान शत्रुको खुट्टा समाएर वैतरणी तर्न लागिपरेका छन् । कार्यनीतिले रणनीतिको सेवा गर्नुपर्छ भन्ने सामान्य सिद्धान्त पनि भुलाएर सर्वसाधारणलाई अन्योलमा राख्ने कोसिस गरेका छन् । सत्ताको दौडमा कुन बेला गाईले खुट्टा छड्काइदिन्छ, त्यति बेला पक्कै सागरको गहिराइमा फेरि आफ्नो अस्तित्व खोज्दै गर्दा अर्कै कित्तामा पुगेका हुने छन् ।
आफैले समाइराखेको पुस्तक माओका चुनिएका रचना फेरि पल्टाउँछन् ।
माओ लेख्छन्– हाम्रा शत्रुहरू को हुन् ? हाम्रा मित्रशक्ति को हुन् ? यो क्रान्तिका लागि प्राथमिक महत्वको सवाल हो । चीनमा पहिलेका सबै क्रान्तिकारी सङ्घर्षहरूले यति कम उपलब्धि हासिल गर्नुको कारण के थियो भने ती सङ्घर्ष सच्चा शत्रुमाथि हमला गर्नको लागि सच्चा मित्रहरूसित एकताबद्ध हुन सकेनन् । क्रान्तिकारी पार्टी जनताको पथप्रदर्शक हो र सो क्रन्तिकारी पार्टीले जनतालाई अलपत्र पारेमा कुनै पनि क्रान्ति कहिल्यै सफल हुँदैन ।
हरि पढ्दै सोच्दै गर्छन्– क्रान्तिकारी नेताको उठबस सबै सम्भ्रान्त वर्ग र पुँजीपति ठुला ठेकेदार र व्यापारी वर्गसँग मात्र हुन थालेको धेरै भइसक्यो । क्रान्तिकारी वर्ग, जसलाई क्रान्ति चाहिएको छ, त्यही वर्गबाटै कम्युनिस्ट पार्टी खोसिएका छन् । यही वर्ग पार्टीबाट टाढा लगिँदै छ । यही चुनावको बेला मात्रै यो वर्गसँग पनि कम्युनिस्ट पार्टी जोडिन खोज्दछन् । भोटिङसँगै यो वर्गसँग पार्टीको डिभोर्स सुरु हुने गर्छ ।
हरि निदाउन पनि सकेका छैनन् । ध्यान दिएर पढ्न पनि सकेका छैनन् । बेला बेला वास्तविकतासँग ठोकिन पुग्छन् । जिउ नै सिरिङ्ग हुन्छ ।
कता हिँडेको मान्छे कता पुगे जस्तो लाग्छ । क्रान्ति उनीबाट टाढा भाग्दै गए जस्तो लाग्छ । अब त कम्युनिस्ट पार्टी पनि नाम मात्रै कम्युनिस्ट भएका पुँजीवादी पार्टी जस्तै लाग्छ । जनताको नाममा शपथ खाएर जनतालाई धोका दिँदै व्यवस्था अनुकूल हुने संसद्वादी कम्युनिस्ट कम्युनिस्ट हुनै सक्दैन ।
भन्न मन लाग्छ, तिमीहरूको पार्टीलाई कम्युनिस्ट पार्टी लेख्ने र तिमीहरूलाई कम्युनिस्ट भन्ने अधिकार पनि छैन ।
मन लाग्छ, सच्चा देशभक्त माक्र्सवादी–लेनिनवादी क्रान्तिकारी विचारले निथु्रक्कै भिजेकाहरूले विद्रोह गर्नुपर्दछ । नयाँ क्रान्तिकारी सङ्गठनको निर्माण गर्नुपर्दछ ।
मनमनै आह्वान गर्छन्– सम्पूर्ण समानताको आशामा विभिन्न नाम मात्रैका कम्युनिस्ट पार्टीमा ठगिएका सच्चा कम्युनिस्टहरूलाई ।
सोचाइमा डुबेका हरि झसङ्ग हुन्छन् । मोबाइलको घण्टी आज पनि उसै गरी बजेको छ । आफ्नै कमरेडहरूकै मोबाइलले घण्टी बजाएको छ । झोला मिलाउनुपरेको छ । भोलिदेखि फेरि पहिले जस्तै चुनाव प्रचार प्रसारको लागि गाउँ गाउँ जानुछ । सहरमा परिवर्तनको आश देखाउँदै ठुला ठुला भाषण गर्नुछ ।
हरि अल्छी मान्छन् । बिहानका जुठा भाडा माझ्नुछ ।
भोलिको तयारीमा जुट्नुछ ।