काठमाडौँ । काठमाडौँ उपत्यकामा आज (आइतबार) देखि मेलम्चीको पानी वितरण हुँदै छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले काठमाडौँ उपत्यकामा आज दिउँसोदेखि मेलम्चीको १७ करोड लिटर पानी वितरण गर्न लागेको हो ।
गत असारमा मेलम्ची नदीमा आएको बाढीले क्षतिग्रस्त बनेका संरचनाको मर्मत सकेर गत साताबाट मेलम्चीको पानी काठमाडौं ल्याइएको थियो। ११ वैशाखमा मीनभवनबाट मेलम्चीको पानी वितरण सुरु भएको थियो । अब नौ वटा भण्डारण केन्द्रबाट दैनिक १७ करोड लितर पानी उपभोक्ताका एक लाख ७५ हजार धारामा पुग्ने केयूकेएलले जनाएको छ।
हिजोआज केयूकेएलले दैनिक १० करोड लिटर पानी उपत्यकामा वितरण गर्दै आएको छ। मेलम्चीको १७ करोड लिटर पानी वितरण प्रणालीमा थपिएपछि अब दैनिक २७ करोड लिटर पानी काठमाडौं उपत्यकामा वितरण हुने छ।
गत वर्ष चैतमा पहिलोपटक मेलम्चीको पानी काठमाडौं ल्याइएको थियो। गत असार र साउनमा मेलम्ची नदीमा आएको बाढीले आयोजनाको संरचनामा ठूलो क्षति पुर्याएपछि आयोजना बन्द भएको थियो।
मेलम्चीको पानी वितरण हुन थालेपछि काठमाडौं उपत्यकामा खानेपानीको अभाव कम हुने अपेक्षा गरिएको छ।