काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । बढेको मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १६० रुपैयाँ पुगेको छ ।
त्यसैगरी डिजेल र मट्टितेलको मूल्य पनि १४३ रुपैयाँ प्रतिलिटर पुगेको छ। निगमले हवाइ इन्धन (आन्तरिक) को प्रतिलिटर ५ रुपैयाँले बढाई १५६ रुपैयाँ पुर्याएको छ । हवाइ इन्धन (अन्तर्राष्ट्रिय) तर्फ अमेरिकी डलर ५० ले वृद्धि गरी प्रतिकिलोलिटर १ हजार ५ सय ४५ कायम गरिएको छ।
एलपी ग्यासको मूल्य पनि १६ सय प्रतिसिलिन्डर कायम गरिएको छ। बढेको मूल्य मंगलबार राति १२ बजेदेखि नै कार्यान्वयनमा आएको छ।
निगमले पछिल्लोपटक गरेको मूल्य समायोजनपछि १ महिनाको अनुमानित घाटा ९ अर्ब २७ करोड हुने जनाएको छ। यो आवमा हालसम्म ३३ अर्ब हाराहारीमा नोक्सानी व्यहोरेको निगमको दाबी छ।
यसैबीच सरकारको मातहतमा रहेको मूल्य स्थिरीकरण कोषको सञ्चालक समितिको मंगलबार बसेको बैठकले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज बनाउन निगमलाई ४ अर्ब २० करोड दिने निर्णय गरेको छ।
