प्रकाश थापामगर ##
सातपुस्ते गाउँका मुखिया बा
एक्लै भुनभुनाउँदै छन् यतिखेर–
‘रैती भनेका रैती नै रहेछन्
आफ्नो पायन देखाएकै हुन्छन्
हात थाप्नुपर्दा लुरुक्क
पाएपछि आँखा फेर्छन्’
आज कोदो रोप्नु छ मुखिया बाकोमा
बिहानैदेखि सराप्दै छन् तब त
रैतीको मुख ताक्दै छन्
भन्दै छन्– कोदोको रोटी पोल्न बज्यैलाई
छोप कुट्न अर्नीको साथमा
तिनै खेताला वा असामीलाई
दिँदैनन् ज्याला कहिल्यै मुखिया बाले
तर पनि कज्याउँछन् खेताला गाउँभरिका
महिनाचारे ब्याज, चौथाइ बैना
सालभरिमा बनाइहाल्छन् दुई गुना
तिनै रैती मुखिया बाका खेताला सधैँ
त्यही अन्नले प्राण धान्छन् मुखिया बा सधैँ
मुखिया बा सराप्दै हुन्छन् घरि घरि
आज त अति भो यिनीहरूको
घाम डाँडामाथि आई नै सक्यो
एक्लै मुखिया बा दिन्छन् धम्की–
‘आउलास् अर्कोपटक ऋण माग्न
महिनाचारे होइन, महिनाको पाँच’
तर दुईचार दिनसम्म कोही
आएन ऋण माग्न भने उनीकहाँ
आफै पुग्छन् मुखिया बा घरघरै
बेतको लौरो टेकेर
भन्छन्, ढोकैनेर झुल्किएर–
‘हैन, पैसा चाहिन्न तिमीहरूलाई ?’
आउँछ आवाज ढोकाभित्र बाट–
‘चाहिन्छ नि; आउँनै आँटेको थिएँ !
गद्गद् मुखिया बा
मनमनै गमिँदै बाटाभरि
यो गाउँको मुखिया नै मै हुँ
मसित ऋण नलिए कोसँग लिने ?
मेरोमा काम नगरे कसकोमा काम गर्ने ?
मेरै खेताला त हुन् यिनीहरू
फेरि ठोकुवा गर्छन् उनी–
‘यी खेताला मेरा असामी त हुन्
असामी भनेको रैती हुन्
रैती त असामी हुन्छन् नै’
तर अहिलेको विश्व होइन रैतीको
अहिलेको युग होइन मुखिया बाको
बरु, अहिलेको युग हो
चिहान खन्ने मुखिया बा
र, मुखिया बा प्रवृत्तिको ।
(आठ दलसम्बद्ध साहित्यिक, सांस्कृतिक सङ्गठनहरूको आयोजनामा एम.सी.सी. को विरुद्धमा २०७८ फागुन ११ गते काठमाडौँको नयाँ बानेश्वरमा आयोजित ‘बृहत् सांस्कृतिक प्रतिरोध सभा’ मा वाचन गरिएको)