खुम रायमाझी, कुवेत ।
भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण सकिएलगत्तै उडान गर्न कुवेतको जजिरा एयरवेजले नेपाल सरकारमार्फत् नागरिक उड्डयन प्राधिकरणसमक्ष प्रस्ताव गरेको छ ।
वैशाख १ मा नेपाल वायुसेवा निगमको विमानबाट परीक्षण उडानको तयारीमा छ । विदेशी वायुसेवाले पहिलोपटक उक्त विमानस्थलमा व्यावसायिक उडान गर्ने प्रस्ताव गरेको हो।
जजिरा एयरलाइन्स भैरहवा विमानस्थलमा व्यावसायिक उडानको प्रस्ताव गर्ने पहिलो विदेशी वायुसेवा कम्पनी भएको प्राधिकरण प्रवक्ता देवचन्द्रलाल कर्णले बताए ।
जजिराले अहिले कुवेत–काठमाडौँ रुटमा १७४ सिटको एयरबस–३२० मार्फत दैनिक उडान गर्दै आएको छ । वायुसेवा कम्पनीहरूका अनुसार करिब साढे ५ घण्टाको हवाई दुरी भएको कुवेत–काठमाडौँ अत्यधिक श्रमिक ओहोरदोहोर गर्ने नाफाको रुटमा पर्छ । नेपाल सरकारले १६ वर्षअघि कुवेतसँग हवाई सम्झौता गरेको थियो ।
थाइल्यान्डको एरो थाई कम्पनीको विमानले गत फागुन ६ देखि १० दिनसम्म विमानस्थलमा यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) गरेको थियो ।
केही दिनपहिला नेपाली राजदूतावास कुवेतले आयोजना गरेको अगुवा भेलामा कुवेत नेपाली एकता समाजका महासचिव खुम रायामाझीले कुवेत र नेपाललाई व्यापार प्रबर्दनसँग जोड्नका लागि कुवेतको एयरलाइन्स कम्पनीहरूलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गराउनका लागि राजदूतावासले सहजीकरण गरी सम्बन्धित निकायबाट अनुमति दिन पहल गरिदिनुपर्ने बताउनुभएको थियो ।
मध्यपूर्वमा समुद्री कार्गोसँगै भारतले एयरकार्गो पनि प्रयोग गरी त्यहाँको उत्पादन खाडी मुलुकका बजारमा पुराए जस्तै नेपालको व्यापारिक केन्द्र बुटवल भैरहवाबाट पनि अर्गानिक तरकारी, कपडालगायत नेपाली सामान एयर कार्गोमार्फत् कुवेतको बजारमा सहजै पुराउन सकिने जिकिर गर्नुभएको थियो।
जजिराले भैरहवा दैनिक उडान गर्ने प्रस्तावले खाडीबाट जाने श्रमिकलाई सहज मात्र नभई दुई देशको व्यापारिक सम्बन्ध पनि अझै गाढा हुने भन्दै उहाँले खुसी व्यक्त गर्नुभएको छ ।