नवरपरासी । भारतले गरेको सीमा अतिक्रमण विरुद्ध राष्ट्रिय जनमोर्चा नवलपरासीले शनिबार सदरमुकाम परासी बजारमा विरोध सभा गरेको छ ।
सभालाई सम्बोधन गर्दै राजमो केन्द्रीय उपाध्यक्ष तथा तराई मधेस जनवादी मोर्चाका अध्यक्ष बद्रे आलमले भारतीय साम्राज्यवादको मिचाहा प्रवृत्ति र नेपाल सरकारको लम्पसारवादी प्रवृति विरुद्ध कडा शब्दमा भत्र्सना गर्नुभयो । आलमले सबै देशभक्त शक्ति एकजुट भएर मात्रै कालापानी लिपुलेक लिम्पियाधुरा लगायत अतिक्रमित भूमि जोगाउन सकिने बताउनुभयो ।

यस्तै, रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष रेम रानाले कालापानी लगायत भारतीय सीमासँग जोडिएका हरेक क्षेत्रमा भारतले नेपालको भूभाग कब्जा गरेको भन्दै अतिक्रमित भूमि फिर्ता गर्न सरकारले दह्रो पहलकदमी लिनुपर्ने बताउनुभयो ।
कार्यक्रमलाई नेकपा (मसाल) जिल्ला प्रवक्ता धनपति सापकोटा, राजमो जिल्ला सल्लाहकार तिलक प्रसाद सुवेदी, सल्लाहकार उत्तम खरेललगायत नेताहरुले सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरुले जोशिलो गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।
