काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले कालापानी लगायतका क्षेत्रमा भारतले गरेको अतिक्रमण विरुद्ध सञ्चालन हुने सबै कार्यक्रमप्रति ऐक्यवद्धता जाहेर गरेको छ ।
त्यस सन्दर्भमा राष्ट्रिय जनमोर्चा सुदूरुपश्चिम प्रदेश समितिले बुधबारदेखि सञ्चालन गर्न लागेको ‘कालापानी मार्च’ लाई स्वागत गर्दै त्यसप्रति ऐक्यवद्धता जनाएको छ । राजमोले मंसिर ११ देखि १७ गतेसम्म धनगढीदेखि दार्चुला हुँदै महेन्द्रनगरसम्म मोटरसाइकल –यालीलगायत कार्यक्रम गर्दैछ ।
महामन्त्री मोहन विक्रम सिंहले मंगलबार जारी गर्नुभएको वक्तव्यमा उल्लेख छ:
‘भारतले आफ्नो नयाँ प्रकाशित नक्शामा कालापानी, लिम्पियाधुरा, लिपुलेक सम्मलाई आफ्नो भूमिमा देखाएको विरोधमा देशव्यापी रुपमा विरोध कार्यक्रमहरु भइरहेका छन् । त्यसप्रकारका कार्यक्रमहरुलाई स्वागत गर्दै तिनीहरुसँग हाम्रो पार्टीले ऐक्यवद्धता प्रकट गर्दछ ।
सुुदूरपश्चिम प्रदेशमा राष्ट्रिय जनमोर्चाले भारतीय साम्राज्यवादको उक्त कदमका विरुद्ध पूरै प्रदेशमा एकहप्ताको ‘कालापानी मार्च’ अन्तर्गत बिभिन्न कार्यक्रमहरूको आयोजना गरेको छ । उक्त कार्यक्रमहरुलाई हाम्रो पार्टीले दृढतापूर्वक समर्थन गर्दछ ।
देशका बिभिन्न भागहरुमा राष्ट्रिय जनमोर्चा र अन्य बिभिन्न जनवर्गीय सङ्गठनहरुले गरिरहेका विरोधका कार्यक्रमहरुलाई पनि हाम्रो पार्टीले स्वागत गर्दछ र तिनीहरुसित ऐक्यवद्धता प्रकट गर्दछ । त्यो सिलसिलालाई अगाडि बढाउँदै हाम्रो पार्टीले यही मंसीर ११ गतेदेखि देशव्यापी रुपमा मोटरसाइकल र्याली, विरोधसभा, कोणसभा, जुलुश आदि जे सम्भव छ, त्यसप्रकारका कार्यक्रमहरुको आयोजना गर्न पार्टीका बिभिन्न मोर्चा, जनवर्गीय सङ्गठनहरु आदिसित अनुरोध गर्दछ ।’