काठमाडौं । नवनियुक्त ६ मन्त्री र ३ राज्यमन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित एक समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरूलाई शपथ गराएकी हुन् ।
समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना लगायत उपस्थित थिए ।
नवनियुक्त मन्त्रीहरूमा नेकपा सांसदहरू वसन्त नेम्वाङ, घनश्याम भुसाल, हृदयेश त्रिपाठी र पार्वत गुरुङ, लेखराज भट्ट र रामेश्वर राय यादव छन् ।
नेम्वाङलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ । भुसाललाई कृषि, हृदयेश त्रिपाठी संघीय मामिला तथा सामान्य प्रशासन, पार्वत गुरुङ महिला बालवालिका तथा जेष्ठ नागरिक, रामेश्वर राय श्रम र लेखराज भट्ट उद्योगमन्त्री बनेका छन् ।
त्यस्तै मोती दुगडलाई उद्योग तथा वाणिज्य राज्यमन्त्री, रामबीर मानन्धरलाई सहरी विकास राज्यमन्त्री र नवराज रावतलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार मन्त्रिपरिषद् हेरफेर गरेकी थिइन् । कतिपय मन्त्रीहरुको जिम्मेवारी हेरफेरसमेत गरिएको छ । स्वास्थ्यमन्त्री उपेन्द्र यादवको जिम्मेवारी परिवर्तन गरी कानूनमन्त्री बनाइएको छ भने कानूनमन्त्री रहेका भानुभक्त ढकाललाई स्वास्थ्यमन्त्री बनाइएको छ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, शिक्षामन्त्री गिरीराजमणि पोखरेल, उर्जामन्त्री वर्षमान पुन, सञ्चारमन्त्री गोकुल बास्कोटा, पर्यटनमन्त्री योगेश भट्टराई, अर्थमन्त्री युवराज खतिवडाको जिम्मेवारी यथावत राखिएको छ ।
प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ, संघीय मामिलामन्त्री लालबाबु पण्डित, श्रममन्त्री गोकर्ण विष्ट, महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापा, कृषिमन्त्री चक्रपाणि खनाल, उद्योगमन्त्री मात्रिका यादव तथा पर्यटन राज्यमन्त्री धनबहादुर बुढा र कृषिराज्यमन्त्री रामकुमारी चौधरीलाई हटाएर नयाँ मन्त्री नियुक्त गरेका थिए ।
यस्तो छ, मन्त्रीहरुको सूचि

