काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठन गरेका छन् । बुधबार साँझ राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको सूचना अनुसार प्रधानमन्त्री ओलीले कार्यविभाजन सहति मन्त्रिमण्डल पुनर्गठन गरेका हुन् ।
नयाँ मन्त्रीहरूलाई भोलि (बिहीबार) राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानमन्त्री ओलीले राष्ट्रपति भवन शीतलनिवासमा पद तथा गोपनियताको शपथ गराउने कार्यक्रम छ ।
प्रधानमन्त्री ओलीले आठ जना मन्त्रीलाई जिम्मेवारीबाट हटाएर आठ मन्त्री नियुक्त गरेका छन् । मन्त्रीहरू रघुवीर महासेठ, लालबाबु पण्डित, थममाया थापा, चक्रपाणि खनाल, मातृका यादव र गोकर्ण विष्टलाई मन्त्रीबाट हटाइएको छ ।
नयाँ थपिएका मन्त्रीहरुमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङ, संघीय मामिला तथा स्थानीय विकास मन्त्री हृदयश त्रिपाठी, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङ, कृषिमन्त्री घनश्याम भुसाल, उद्योगमन्त्री लेखराज भट्ट र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव रहेका छन् ।
त्यस्तै मोती दुगड उद्योग तथा वाणिज्य राज्यमन्त्री, रामबीर मानन्धरलाई सहरी विकास राज्यमन्त्री र नवराज रावतलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् ।
प्रधानमन्त्री ओलीले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, उर्जामन्त्री वर्षमान पुन, सञ्चारमन्त्री गोकुल बास्कोटा र पर्यटनमन्त्री योगेश भट्टराई, अर्थमन्त्री युवराज खतिवडाको जिम्मेवारी यथावत राखेका छन् ।
स्वास्थ्यमन्त्री उपेन्द्र यादवको जिम्मेवारी परिवर्तन गरी कानूनमन्त्री बनाइएको छ भने कानूनमन्त्री रहेका भानुभक्त ढकाललाई स्वास्थ्यमन्त्री बनाइएको छ ।

