काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको छब्बिसौँ सम्मेलन (कोप–२६) २०७८ कात्तिक १४ देखि २६ गतेसम्म बेलायनको स्टकल्यान्डस्थित ग्लास्गो सहरमा सम्पन्न हुने भएको छ ।
सम्मेलनमा नेपालका तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा उच्चस्तरीय प्रतिनिधि मण्डल सहभागी हुने तय भएको छ ।
प्रतिनिधिमण्डलमा वन तथा वातावरणमन्त्री रामसहाय प्रसाद यादव, विभिन्न मन्त्रालयका सचिवलगायत सहभागी हुनुहुन्छ ।
सम्मेलनको उच्चस्तरीय सत्रको नेतृत्व प्रधानमन्त्रीको हुने र कोप–२६ को बाँकी कार्यक्रममा प्राविधिक सत्रको नेतृत्व वनसचिवले गर्ने तय गरिएको छ । यसबाहेक विभिन्न विषयमा विज्ञसहितको टोली बनाएको र सो टोलीले साइड लाइन वार्ता गर्ने छन् ।
सम्मेलनसँगै बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले नोभेम्बर १ देखि २ सम्म “ग्लोबल लिडर समिट” समेत आयोजना गर्नुभएको छ । समिटमा झन्डै १२१ मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखको सहभागिता हुने भएपछि यो सम्मेलनलाई महत्त्वका साथ हेरिएको छ ।
समिटमा प्रधानमन्त्री देउवाको विशेष सम्बोधन हुने र नेपालले उठाउने विषयका बारेमा मन्त्रालयले आवश्यक गृहकार्य गरिसकेको छ ।
समिटमा हालसम्म संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो वाइडेन, बेलायतकी महारानी एलिजाबेथ द्वितीय र प्रधानमन्त्री जोनसन, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडेयु, अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन, फ्रान्सका राष्ट्रपति इम्मान्युल माक्रोन, दक्षिण कोरियाका राष्ट्रपति मून जाइइनलगायत १२१ भन्दा बढी मुलुकका राष्ट्र प्रमुख÷सरकार प्रमुखको प्रतिनिधित्व हुने तय भइसकेको छ ।
समिटको पहिलो दिन नोभेम्बर १ मा उदटन सत्रसहित विश्व नेताहरूले सम्बोधन गर्ने समयतालिका निर्धारण गरिएको छ । दोस्रो दिन पनि नेताहरूको सम्बोधन हुने कार्यतालिका तय गरिएको छ ।
अहिलेसम्मको कार्यतालिकानुसार प्रधानमन्त्री देउवाले समिटको दोस्रो दिन सम्बोधन गर्नुहुने बताइएको छ । सोही दिन साँझ ५ बजेदेखि ५ः३० सम्म “ग्लोबल लिडर समिट” को समापन हुने कार्यक्रम तय छ । (रासस)