काठमाडौँ । प्रसिद्ध सामाजिक सञ्जाल फेसबुकले आफ्नो कर्पोरेट नाम परिवर्तन गरी रिब्रान्डिङ गर्ने भएको छ ।
फेसबुकले समाजको एउता तप्काको मानसिक स्वास्थ्यमै असर पारेको आरोप लागिरहेका बेला फेसबुकले नाम बदल्न लागेको हो ।
यस सम्बन्धमा आगामी अक्टोबर २८ का दिन आयोजित फेसबुकको वार्षिक कनेक्ट कन्फ्रेन्समा फेसबुकका सी.ई.ओ. मार्क जुकरबर्गले चर्चा गर्ने र छिट्टै नै फेसबुकले आफ्नो कर्पोरेट नाम परिवर्तन गर्ने बताइएको छ । यससँगै फेसबुकले आफ्ना सोसल नेटवर्किङ प्लेटफर्म र अग्मेन्टेड रियालिटी तथा मेटाभर्सलगायतका प्रोजेक्टको माझमा विभाजनको रेखा खिच्ने छ । त्यसपछि मातृ कम्पनीको नयाँ ब्यानरभित्र अन्य प्रोडक्टसँगै सोसल साइट फेसबुकको एप पनि रहने छ ।
पछिल्लो समय आफ्नै पूर्व कर्मचारीले अमेरिकी संसदमा गोप्य तथ्यको खुलासा गरिदिएसँगै फेसबुक दबाबमा परेको बताउने गरिएको छ ।
त्यस सन्दर्भमा फेसबुकले आफूलाई सामाजिक सञ्जालभन्दा व्यापक कम्पनीको रूपमा चिनाउन चाहेको अनुमान गरिँदै छ ।
फेसबुकले पछिल्लो समय स्मार्ट चस्मालगायतका कन्जुमर हार्डवेयर उत्पादन सुरु गरिसकेको छ र यसका लागि १० हजार भन्दा धेरै कर्मचारी खटाइसकेको छ ।
त्यसका साथै फेसबुकलाई मेटाभर्स कम्पनीको रूपमा स्थापित गरिने कम्पनीका प्रवक्ताको भनाइ छ ।
यसअघि, गुगलले सन् २०१५ मै मातृ कम्पनीको रूपमा अल्फाबेट खडा गरी सोही मातहतमा रहेको छ भने स्नापच्याटले सन् २०१६ मा आफूलाई स्नाप इङ्कको रूपमा रिब्रान्ड गरेको छ । (एजेन्सी)