काठमाडौँ । युरोपेली आयोगले फोन निर्माता कम्पनीहरूलाई एकै किसिमको चार्जर लाग्ने फोन बनाउन निर्देशन दिने प्रस्ताव गरेको छ ।
उपभोक्तालाई पुरानै चार्जर प्रयोगमा प्रेरित गर्दै विद्युतीय फोहोर कम गर्ने उद्देश्यका साथमा यस्तो योजना अघि सारिएको हो ।
यता, आइफोन निर्माता कम्पनी एप्पलले भने यो कदमले नयाँ आविष्कारमा नकारात्मक असर गर्न सक्ने चेतावनी दिएको छ । एप्पलले इयूको नयाँ प्रस्तावको विषयमा प्रतिक्रिया दिँदै यसले उपभोक्तालाई सहज बनाउनेभन्दा पनि उनीहरूलाई थप नोक्सानी पुर्याउन सक्ने चेतावनी दिएको छ ।
एप्पलले आइफोनका लागि मात्रै प्रयोग हुने चार्जर बनाइरहेको छ । एप्पलले अहिले आइफोनका लागि “लाइटनिङ” कनेक्टरको प्रयोग गर्दै आइरहेको छ । एप्पलले आफूहरू सन् २०३० सम्म सबै डिभाइस कार्बन न्युट्रल बनाउने दिशामा अघि बढिरहेको बताएको छ ।
अधिकांश एन्ड्रोइड फोनमा युएसबी माइक्रो बी चार्जिङ पोर्ट छ भने केही फोनमा युएसबी–सी स्ट्यान्डर्डको चार्जिङ पोर्ट छ । आइप्याड र म्याकबुकको नयाँ मोडलमा युसबी चार्जिङ पोर्ट छ । अहिले गरिएको प्रस्तावअनुसार सबै डिभाइसको चार्जर युएसबी–सी वा यूएसबी–ए हुनुपर्छ ।
इयूका करिब आधा फोनमा युएसबी माइक्रो बी कनेक्टर छ । करिब २९ प्रतिशतमा युएसबी सी र २१ प्रतिशतमा लाइटनिङ कनेक्टर छन् ।
अहिले गरिएको प्रस्ताव स्मार्टफोन, ट्याबलेट, क्यामेरा, हेडफोन, स्पिकर र हाते भिडियो गेम्समा पनि लागु हुने छ । इयरबड, स्मार्ट वाच र फिटनेस ट्रयाकको साइज र प्रयोगको सर्तबारे भने केही बताइएको छैन ।
युरोपेली आयोगको आँकलनअनुसार अहिले वार्षिक रूपमा प्रयोग नहुने चार्जिङ केबलबाट ११ टन फोहोर निस्किने गरेको छ । गत वर्ष मात्र इयूमा ४२ करोड मोबाइल फोन र अन्य विद्युतीय डिभाइस बिक्री भएको थियो । अहिले प्रस्ताव गरिएको भए पनि पारित भएर कार्यान्वयनमा आउन भने केही वर्ष पनि लाग्न सक्छ । (एजेन्सी)





