बाग्लुङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बाग्लुङमा वाम गठबन्धन विरुद्ध भोट माग्दै हिँडेका पार्टीका दुई नेतामाथि कारबाही गरेको छ । कारबाहीमा पर्नेमानेकपा जिल्ला सदस्य ढोरपाटन नगरपालिका–१ का तुल्सी अर्याल र ढोरपाटन नगरपालिका–२ का दधिराम अर्याल छन्।
नेकपाले जिल्ला सदस्य तुल्सी अर्याललाई पार्टी सदस्यताबाट अनिश्चतकालिन निष्काशन गर्नुका साथै दधिरामलाई पार्टी सदस्य समेत नरहने गरि निश्कासन गरेको छ । उनीहरुले उम्मेद्वारी फिर्ता लिएर वाम गठबन्धनका खिमविक्रम शाहीलाई सघाइरहेका शेरमान घर्तीको नाममा भोट माग्दै हिँडेका थिए ।
नेकपा बागलुङका अध्यक्ष इन्द्रलाल सापकोटाले निकालेको विज्ञप्तिमा उप निर्वाचनमा शेरमान घर्तीको स्वतन्त्र उम्मेदवारी कायम गर्न गरिएका हर्कतहरु, उम्मेदवारी फिर्ता लिने समय टार्नको लागि गरिएका अनुचित गतिविधि र शेरमान घर्तीले पत्रकार सम्मेलन गरी उम्मेदवारी फिर्ता लिएको सन्दर्भमा उनले पाएको चुनाव चिन्हलाई दुरुपयोग गरी पार्टीलाई नै असफल गराउन गरिएको गतिविधि पार्टी नीति विपरित भएको उल्लेख गरिएको छ ।
विज्ञप्तीमा ‘पार्टीको अन्तरिम विधान २०७५ को धारा ५६ (क) को (८) बमोजिम गतिविधि भएको ठहर गर्दै उनीहरुलाई अनिश्चितकालका लागि निश्कासन’ गरिएको उल्लेख छ। उप निर्वाचनमा आफ्नो पार्टीको समर्थनमा उम्मेदवार बनेका वाम उम्मेदवार खिम विक्रम शाहीलाई विजय गराउनको लागि सम्पूर्ण पार्टी पंक्तिलाई एकताबद्ध भई लाग्न विज्ञप्ती मार्फत आह्वान गरिएको छ ।
