काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले मुलुकबाट लोडसेडिङ अन्त्य गरेपछि विद्युत आपूर्तिलाई नियमित, भरपर्दो, गुणस्तरीय बनाउन, चुहावट नियन्त्रण गर्न, विद्युतीकरण गर्न, वित्तीय अनुशासन कायम गर्न र आफ्नो सेवाप्रवाहलाई प्रभावकारी बनाउन पहल थालेको छ ।
बिनाजानकारी झ्याप्प झ्याप्प बत्ति जाने गरेको, नयाँ बत्ति जडानका लागि मिटर पाउन छोडेको, नो लाइटमा फोन गर्दा फोन नउठाउने जस्ता गुनासो आउन थालेपछि यस्ता समस्या समाधान गरी सेवा प्रवाहमा सुधार ल्याउन प्राधिकरण व्यवस्थापनले पहल सुरु गरेको छ ।
प्राधिकरणले विद्युत आपूर्तिलाई नियमित, भरपर्दो तथा गुणस्तरीय र सेवा प्रवाहलाई छिटो, छरितो एवम् सहज बनाउने भएको छ ।
प्राधिकरणका कार्यकारी कुलमान घिसिङले २०७८ भदौ ७ गते ग्राहकसँग प्रत्यक्ष सम्पर्क राख्ने वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक, सात वटै प्रादेशिक कार्यालय, प्रदेश डिभिजन कार्यालय र शाखाका प्रमुखसँग भर्जुअल बैठक राखी कार्यालयले बेहोरिरहेका समस्याको बारेमा छलफल गरी गुणस्तरीय विद्युत आपूर्ति, सेवाप्रवाहमा सुधार, सुशासन कायम गर्न कठोर बन्न निर्देशन दिनुभएको छ ।
‘छिनछिनमा बत्ति जाने गरेको, गुनासो गर्दा नो लाइटमा फोन नउठ्ने, गुनासो सम्बोधन नहुने जस्ता गुनासो मलाई मात्रै हैन ऊर्जा मन्त्रीज्यूकोमा समेत आउने गरेको छ । यस्ता गुनासोलाई तत्काल समाधान गरी उपभोक्तालाई नियमित, गुणस्तरीय, भरपर्दो विद्युत् आपूर्ति र सेवा प्रवाह सुधारमा केन्द्रित हुनुपर्छ’ उहाँले भन्नुभयो– ‘संस्थाभित्रको सुशासन कायम गरी ग्राहकलाई दिने सेवासुधार गर्न आफै सुध्रिएर नैतिक आचरण देखाउनुपर्छ । चुहावट नियन्त्रण अभियान रोकिएको छ । स्थानीय तह र प्रशासनसँगको समन्वय र सहकार्यमा यसलाई तत्काल सुरु गर्नुपर्छ ।’
उहाँले कसैको दबाब र प्रवावमा नपरी उच्च नैतिक आचरण देखाएर जिम्मेवार भई काम गर्न कर्मचारीलाई निर्देशन दिनुभयो ।
उहाँले भन्नुभयो– ‘विद्युतको माग बढाउन ग्राहकले माग्नसाथ थ्री फेज मिटर दिनुपर्छ, प्रसारण तथा वितरण संरचनाको सुदृढीकरण तथा स्तरोन्नति गर्ने योजना बनाई तत्काल काम सुरु गर्नुपर्छ । निर्माणाधीन आयोजनाको छिटो सम्पन्न गर्नुपर्छ । रूग्ण बनेका र काम नगर्ने ठेकेदारसँगको ठेक्का तोड्नुपर्छ ।’
प्राधिकरणका अनुसार खर्च नियन्त्रणका लागि स्टोरमा रहेका पुरानो सामानको अधिकतम प्रयोग गरी जिन्सी सामानको स्टक घटाउने, नयाँ सामान खरिदमा नियन्त्रण, काम नलाग्ने जिन्सी सामानको लिलामी, ट्रान्सफर्मरको मर्मत समयमै आफ्नै वर्कसपमा गरिने छ । वित्तीय अनुशासन कायम गर्न ठाडो खरिद, कोटेशनमार्फत हुने खरिदको नियन्त्रण आर्थिक प्रशासन विनियमावलीलाई कडाइका साथ पालना गरिने छ ।
कर्मचारीको आचरण सुधार गरी सुशासन कायम गर्न गलत काम गर्ने कर्मचारीलाई कारबाही, माथिल्लो निकायलाई जानकारी नदिई कार्यालय नछोड्ने, संस्थालाई थप आर्थिक भार पर्ने कुनै पनि गतिविधि नगर्ने जस्ता व्यवस्था प्राधिकरणले गरेको छ ।
सहरी सौन्दर्यलाई वृद्धि गर्न “उज्यालो र सफा सहर अभियान” चलाउने घोषणा गरेको प्राधिकरणले उज्यालो सहर अभियानअन्तर्गत नगरपालिकासँगको समन्वय र सहकार्यमा मुख्य सडक, ऐतिहासिक सांस्कृतिक सम्पदा, विश्व सम्पदा सूचीमा सूचीकृत तथा पर्यटकीय स्थानमा सजावटयुक्त आधुनिक बत्ति (स्मार्ट लाइट) जडान गर्ने प्रक्रिया सुरु गर्न मातहतका कार्यालयलाई निर्देशन दिएको छ ।
साथै सफाइ अभियानअन्तर्गत मुख्य तथा सहायक सडकमा रहेका प्रयोगविहीन अनावश्यक विद्युतीय पोल तथा तार हटाउने, तारलाई भूमिगत गर्ने लगायतका काम अगाडि बढाउन पनि प्राधिकरणको निर्देशन छ ।
बैठकमा वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपयकार्यकारी निर्देशक मनोज सिलवालले चुहावट नियन्त्रण, विद्युतीकरण, सेवा प्रवाह सुधारमा केन्द्रित हुन निर्देशन दिनुभयो । उहाँले रूग्ण बनेका आयोजनाको ठेक्का तोड्न र कुनै ठेकेदारबाट काम हुँदैन जस्तो लागेमा ठेक्का तोड्ने प्रस्ताव ल्याउन आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रादेशिक कार्यालयका प्रमुखहरूले आफ्नो क्षेत्रमा संरचना अभावमा मागअनुसार विद्युत् दिन नसकिएको, पोल, ट्रान्सफर्मर, मिटरलगायतका अभाव रहेको जानकारी गराउनुभएको थियो ।