काबुल । अफगानिस्तानका छ प्रान्तीय राजधानी विद्रोही सङ्गठन तालिबानले कब्जामा गएको छ ।
उनीहरूले कब्जा गरेकामध्ये एउटा सहर कुन्दुज एक हो । यो प्रान्त कब्जा गरेको घटनालाई अफगानिस्तानका तालिबाले निकै महत्त्वपूर्ण रहेको भनेका छन् ।
अफगानिस्तानमा पछिल्लो समयमा बिग्रँदो अवस्थाबिच युद्धविरामका लागि पनि केही अन्तर्राष्ट्रिय अपिल भएकोमा त्यसलाई तालिबान विद्रोहीले अस्वीकार गरेको छ ।
तालिबानले पछिल्लो समय अफगानिस्तानमा एकपछि अर्को मुख्य सहर कब्जा जमाइरहेकाले पनि यस अपिललाई अब आवश्यक नरहेको प्रतिक्रिया दिएको बताइँदै छ । पछिल्ला दिनमा तालिबानले अफगानिस्तानमा हमलाका घटना बढाएको छ ।
यसैबिच अमेरिकी र अफगान विमानले विद्रोहीमाथि कयौँ हवाइ हमला गरेका छन् । अफगान अधिकारीले यी हमलामा कैयौँ मानिसको ज्यान गएको बताएका छन् ।
तालिबानले अमेरिकालाई अफगानिस्तानमा थप कारबाही नगर्न चेतावनी दिएका छन् । उत्तरी अफगानिस्तानका तीन सहरमा मात्र केही घण्टाको अन्तरमा तालिबानले कब्जा जमाएको खबर बाहिर आएपछि अमेरिकी सेनाले हवाइ हमला गरेको थियो ।
कुन्दुजको स्थिति निकै अशान्त रहेको बताइएको छ । सामाजिक सञ्जालमा तालिबान लडाकु कुन्दुज र सर–ए–पुलको सरकारी भवनमा प्रवेश गरेको बताइएको छ ।
यता अफगान सरकारी सुरक्षा बलले भने अझै पनि कुन्दुजमा तालिबानसँग सङ्घर्ष गरिरहेको पाइएको छ । तालिबानका अधिकारीले उनीहरूले बागलान प्रान्तको राजधानी पुल–ए–खुमरीलाई निसाना बनाउने तयारी गरेको जानकारी दिएका छन् । (रासस/सिन्ह्वा)