काबुल । अफगानिस्तानको विद्रोही समूह तालिबानले तीन वटा सहरमाथि कब्जा जमाएको छ । अघिल्ला दुई दिनमा उसले दुई वटा प्रान्तीय/क्षेत्रीय राजधानी कब्जामा लिएसँगै आइतबार उत्तरतर्फको प्रमुख सहर कुन्दुजलाई नियन्त्रणमा लिएको हो ।
तालिबानले सार–ए–पोल र तालोकान सहरमा पनि कब्जा जमाएको बिबिसीले जनाएको छ । उलले गत शुक्रबारयता पाँच वटा क्षेत्रीय राजधानीमा नियन्त्रण कायम गरिसकेको छ । त्यसमध्ये तालिबानका लागि कुन्दुज यो वर्षको सबैभन्दा महत्त्वपूर्ण उपलब्धि रहेको बताइन्छ ।
उक्त सहर राजधानी काबुलसहित देशका अन्य भागसँग जोडिएको हुनाले तालिबानका लागि यो रणनैतिक महत्त्वको छ ।
युद्धविरामको आह्वानलाई तालिबानले अस्वीकार गरेपछि अफगानिस्तानमा जारी उक्त हिंसालाई लिएर अन्तर्राष्ट्रिय चिन्ता बढिरहेको छ । यसैबेला अमेरिकाले तालिबान विरुद्धको लडाइँ लगभग अन्त्य गर्दै आफ्ना सेना फिर्ता बोलासकेको छ । (एजेन्सी)