तेहरान । इरानका नयाँ राष्ट्रपति इब्राहिम रायसीले बिहिबार इरानी संसदसमक्ष शपथ ग्रहण गर्नुभएको छ ।
आर्थिक सङ्कट, अमेरिकासँगको सम्बन्ध, स्वास्थ्य समस्या, आणविक कार्यक्रमलगायतका चुनौतीबिच उहाँले राष्ट्रपतिको जिम्मेवारी लिनुभएको हो ।
इरानको कट्टरपन्थी समूहको प्रतिनिधित्व गर्दै इब्राहिम रायसी राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो । निर्वाचनमा रायसीले एक करोड ७८ लाख मत प्राप्त गर्नुभएको थियो ।
अन्य प्रभावशाली नेतालाई निर्वाचन लड्न रोक लगाइएको र आधाभन्दा बढी मतदाता महामारी र असन्तुष्टिका कारण मतदानमा सहभागिता नजनाउँदा–नजनाउँदै भएको निर्वाचनबाट उहाँलाई विजयी भएको घोषणा गरिएको छ ।
इरानका लागि ऐतिहासिक उपलब्धि मानिएको इरान र छ विश्वशक्ति राष्ट्रबिच २०१५ को आणविक सम्झौता गर्नुभएका मध्यमार्गी तत्कालीन राष्ट्रपति हसन रौहानीलाई उहाँले विस्थापित गर्नुभएको छ । रौहानीले दुई कार्यकाल राष्ट्रपति भएर देशको नेतृत्व गर्नुभएको थियो ।
इस्लामिक गणतन्त्र इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीका अति विश्वास पात्रसमेत मानिनुहुने रायसीको चार वर्षे कार्यकाल बिपहबारदेखि सुरु भएको छ ।
इरानको न्यायपालिका पूर्वप्रमुखसमेत रहनुभएका रायसीलाई मानवअधिकार उल्लङ्लन गरेको आरोपमा पश्चिमी मुलुकले चर्को आलोचना गर्ने गरेका छन् ।
निर्वाचित भएपछि रायसीले आफ्नो प्रमुख विदेशनीति क्षेत्रीय देशसँगको सम्बन्ध सुधार गर्ने रहेको बताउनुभएको छ । रायसी १९६० मा इरानको मसहदमा जन्मनु भएको हो । (रासस/एएफपी)