खलङ्गा । जुम्लामा महिलाको नाममा जग्गा नामसारी गर्नेको सङ्ख्या बढेको छ ।
मालपोत कार्यालय जुम्लाका अनुसार गत आर्थिक वर्षमा २६३ जना महिलाको नाममा जग्गा नामसारी भएको कार्यालय प्रमुख नरेन्द्रबहादुर रोकायाले बताउनुभयो । सो नाममा रु १३ लाख ३८ हजार ९९९ राजश्वमा छुट दिइएको छ ।
चन्दननाथ नगरपालिकाभित्रका ११८ महिलालाई २५ प्रतिशत र स्थानीय तहका १४५ महिलालाई ५० प्रतिशत रकम राजस्वमा छुट दिएको कार्यालय प्रमुख रोकायाले बताउनुभयो । राजस्व कम लाग्ने भएकाले महिलाको नाममा जग्गा नामसारी गर्नेको स्ख्या बढेको छ ।
दलितले जग्गा नामसारी गर्दा २५ प्रतिशत राजस्वमा छुट दिइएको छ । अपाङ्गता भएका व्यक्ति र वृद्धलाई २५ प्रतिशत राजस्वमा छुट दिएको कार्यालय प्रमुख रोकायाले बताउनुभयो । सो कार्यालयमा हुने भिडलाई मध्यनजर गर्दे टोकन प्रणाली लागु गरेबाट सेवा प्रवाहमा सहज भएको कार्यालयले जनाएको छ ।