काठमाडौं । भारतीय अर्ध सैनिक बल एसएसबीले तुइन काटिदिँदा बेपत्ता भएका दार्चुलाका जयसिंह धामीको घटनाबारे अध्ययन गर्न गठित छानबिन समितिले काम सुरु गरेको छ । हिजो दार्चुला पुगेको समितिका सदस्यहरूले घटनाबारे विवरण संकलन सुरु गरेको बताइएको छ ।
गृहमन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा रहेको छानबिन समितिले घटनासम्बन्धी विवरण संकलनको काम थालेको समितिका सदस्य एवं दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशीले जानकारी दिनुभयो ।
उहाँका अनुसार घटनासँग जोडिएका र जानकारसँगको छलफल तथा विवरण संकलनको काम भैरहेको छ । विवरण संकलन गर्न सहसचिव गौतम नेतृत्वको टोली हिजो सदरमुकाम खलंगा पुगेको थियो । समितिले हिजो घटनास्थल मालघाट पुगेर फर्किएको सुरक्षाकर्मीको टोलीसँग छलफल गरेको थियो ।
यसअघि डिएसपी वीरसिंह धामी नेतृत्वको टोली स्थलगत निरीक्षणका लागि खटिएको थियो । छानबिन टोलीलाई १० दिनभित्र छानबिन प्रतिवेदन बुझाउन भनिएको छ ।
गएको शुक्रबार तुइन तर्दै गर्दा भारतीय सीमा सुरक्षा बल एसएसबीका जवानले डोरी काटिदिएपछि धामी महाकालीमा खसेर बेपत्ता भएका स्थानीयबासिन्दाले बताउँदै आएका छन् । तर भारतीय पक्षले घटनामा आफ्नो संलग्नता नरहेको दाबी गरेको छ ।
नेपालतर्फ सडक नहुँदा व्यास क्षेत्रका स्थानीबासिन्दाले सदरमुकाम खलङ्गा पुग्न पनि भारतको बाटो हुँदै महाकाली नदीमा तुइन तरेर आउनुपर्ने बाध्यता छ ।
सो घटनाबारे संसदमा समेत चर्को बहस भएको छ । सांसदहरूले भारतीय प्रहरीको ज्यादतीविरुद्ध सरकार मौन बसेको भन्दै कडा आलोचना गरेका छन् ।
