बेइजिङ । चीनमा कोरोना भाइरसका सङ्क्रमित बढ्न थालेको बताइएको छ । कोरोना भाइरसको उद्गमस्थल चीनमा पछिल्लो समयमा देशभित्रै सङ्क्रमित भएकाहरू भेटिने क्रम बढेको छ ।
चीनमा आइतबार कोरोना भाइरसका ५५ जना नयाँ सङ्क्रमित भेटिएको नेसनल हेल्थ कमिसनले जानकारी दिएको छ । ती व्यक्तिहरू चीनभित्रैबाट सङ्क्रमित भएको पाइएको छ ।
चीनको जाङ्सुमा मात्र स्थानीय रूपमै सङ्क्रमण भएका ४० जना सङ्क्रमित भेटिएका छन् । त्यसैगरी हुनान, लियानिङमामा अरू सङ्क्रमित पाइएको बताइएको छ । ती क्षेत्रमा विगतका केही दिनदेखि निरन्तर नयाँ नयाँ सङ्क्रमित देखिने गरेका छन् । चीनभित्रै सङ्क्रमणका नयाँ सूचना आइरहेका ती अधिकारीले जनाएका छन् ।
स्थानीय नागरिकमै सङ्क्रमण देखिएपछि नेसनल हेल्थ कमिसनले चिन्ता व्यक्त गरेको छ । सोही कारणले चीनले पछिल्लो समयमा कोरोनाको परीक्षणलाई तीव्रता दिएको छ । चीनले कोरोना निको भएका नागरिकको पुनःस्वास्थ्य जाँच सुरु गरेको छ । यहाँ पछिल्ला हप्तामा हेलिङजाङ, हेइबेई, सङ्घाइमा पनि सङ्क्रमित देखिएका छन् ।
देशभित्रै अर्थात् स्थानीय रूपमै चीनमा सङ्क्रमित देखिन थालेपछि ती क्षेत्रमा निको भएका बिरामीमा पनि यहाँका स्थानीय स्वास्थ्य अधिकारीले ध्यान दिन थालेका छन् । उनीहरूको पुनःस्वास्थ्य परीक्षण गर्ने काम केही महिनायतादेखि नै थालेको जनाएको छ । (रासस/सिन्हवा)