काठमाडौं । रौतहटको एक विद्यालयमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष चयन गर्ने विषयमा झडप हुँदा १५ जना घाइते भएका छन् । रौतहटको माधवनारायण नगरपालिका–४, स्थित विष्णुपूर्वा माविमा दुई पक्षबीच झडप भएको हो ।
गत वैशाखमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवनारायण भगतको निधन भएपछि रिक्त स्थानमा पदपूर्ति गर्ने विषयमा विवाद हुँदा झडप भएको हो । झडपमा १५ जना घाइते प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार विद्यालयका प्रधानाध्यापक राजेश यादव तथा विद्यालयको व्यवस्थापन समितिका पूर्वध्यक्षदेवनारायण भगत मालीको समूह र वडा ४ का वडाध्यक्ष रामदेनी मुखियाको समूहबीच झडप भएको हो ।
पूर्वध्यक्ष मालीका नाति पारस भण्डारीसहित प्रधानाध्यापक पक्ष र वडाध्यक्ष मुखियाका छोरा रामतलेवर मुखियासहितले आआफ्ना पक्षबाट अध्यक्ष हुनु पर्ने दाबी गरेपछि विवाद सिर्जना भएको छ ।
विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष विद्यालयमा अध्ययरनत विद्यार्थीका अभिभावक मात्रै हुन पाउने प्रावधान भएकाले आइतबार वडाध्यक्ष मुखियाका छोरा रामतलेवर मुखिया बच्चा भर्ना गराउन विद्यालय पुगेका थिए। प्रअले विद्यार्थी र अभिभावकलाई ल्याए मात्रै भर्ना गर्ने बताएपछि दुवै पक्षबीच भनाभन हुँदै झडप भएको हो ।
