काबुल । अफगानिस्तानको कमदिस जिल्लामा गत हप्ता भएको व्यापक वर्षापछि आएको बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या आइतबार ११३ पुगेको टोलो समाचार संस्थाले जानकारी गराएको छ । अझै दर्जनौँ व्यक्ति हराइरहेका र अन्य ७० जना घाइते भएको जनाइएको छ ।
‘नुरिस्तान प्रान्तको कमदिस जिल्लामा भारी वर्षाका कारण बुधबार बाढीमा परी बेपत्ता व्यक्तिमध्ये केही अझै हराइरहेका छन् । बाढीका कारण जिल्लाको करिब १२ किलोमिटर सडक भत्केकोे छ, १७३ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्’ प्राकृतिक प्रकोप व्यवस्थापन राज्यमन्त्री गुलाम बहाउददिन जेलानीले बताउनुभयो ।
यस प्रान्तका विधायकले बाढी प्रभावित बासिन्दालाई तत्काल सहयोगको आवश्यकता भएको बताएका छन् । तालिबानले पीडितको उद्धार कार्यमा अवरोध खडा गरिरहेको विधायकले दाबी गरेका छन् । अर्कातर्फ, तालिबान समूहले बाढी प्रभावित क्षेत्रमा सरकारी सेनाको घुसपैठ हुन नदिन भनेको छ ।
‘जनताको अवस्था दयनीय छ । उनीहरूलाई तुरुन्तै मद्दत चाहिन्छ । उनीहरूले सबै कुरा गुमाएका छन्’ नुरिस्तानका सांसद इस्माइल आटिकानले भन्नुभयो । नुरिस्तानका गभर्नर हाफिज अब्दुल कायुमले केही प्रभावित परिवारलाई सरकारले सहयोग प्रदान गरेको बताउनुभयो ।
गत महिना अफगानिस्तानको पश्चिमी प्रान्त हेरातका केही भागमा भारी वर्षा र बाढीले गर्दा कम्तीमा पनि १२ जनाको मृत्यु भएको थियो । बाढीले जिल्लाका दशौँ आवासीय घर तथा सडक बगाएको छ । सडक बिग्रेपछि विभिन्न जिल्लामा सडक यातायातका बन्द भएको छ । (रासस/एएनआई)