ढाका । बङ्गलादेशमा पछिल्ला केही दिनयता हरेक दिनजसो कोरोना सङ्क्रमित भेटिने क्रम बढ्दै गएपछि यहाँको सरकारले लकडाउन थप कडाइ गरेको जनाएको छ ।
बङ्गलादेशका अधिकारीले दिएको जानकारीअनुसार यहाँ बिहिबार मात्र १५ हजारभन्दा बढी सङ्क्रमित भेटिएका थिए । सङ्क्रमण सुरु भएदेखि विश्वका अन्य देशका तुलनामा यहाँ खासै सङ्कट नपरेकोमा पछिल्लो समयमा यहाँ सङ्क्रमण हुने व्यक्ति बढ्दै गएको पाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो सङ्क्रमणबाट बङ्गलादेशमा २० हजारभन्दा बढीको ज्यान गएको पाइएको छ । बङ्गलादेशको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ अहिलेसम्ममा १२ लाखभन्दा बढी व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।
बङ्गलादेश सरकारले गएको महिना दिनभन्दा लामो समयदेखि यहाँ देशव्यापी रूपमा लकडाउनको व्यवस्था गरेको छ । तर पछिल्ला केही दिनमा सङ्क्रमण नघटेपछि यहाँ जारी लकडाउनमा कडाइ गरिएको बताइएको छ ।
यहाँ विद्यालय पहिलेदेखि नै बन्द छन् भने होटल केही समयदेखि थोरै सङ्ख्यामा सञ्चालन गर्न दिइएको थियो ।
आइतबारदेखि होटल पनि बन्द गरिने सरकारले जनाएको छ । पछिल्लो महिना यहाँ देशव्यापी रूपमा लकडाउन गरिएकोमा केही खुकुलो थियो ।
आइतबारबाट मानिसलाई थप सतर्कता अपनाउन भनिएको छ भने सार्वजनिक स्थानमा हुने जमघट र होटल रेस्टुरेन्टमा हुने जमघटलाई पूर्ण रूपमा निषेध गरिने बताइएको छ । (रासस/एएनआई)