काठमाडौँ । श्रव्य पुस्तकालय तथा श्रोत केन्द्रले काठमाडौँको भृकुटीमण्डपमा बसस्टप राख्न माग गरेको छ ।
संस्थाका अध्यक्ष रमेशबाबु तिवारीद्वारा २०७८ साउन १५ गते ध्यानाकर्षण पत्र सार्वजनिक गर्दै सो संस्थाले यस्तो माग गरेको हो ।
“कुनै पनि ठाउँमा बस रोक्ने र यात्रुहरू चढ्ने र ओर्लने व्यवस्था नभएकाले ज्यादै लामो दुरीमा गई बस चढ्नुपर्ने र ओर्लनुपर्ने, ठाउँ ठाउँमा बाटो पार गर्नुपर्ने समस्याका कारण दुर्घटना हुने भएकाले ओर्लने र चढ्ने सहज व्यवस्था भृकुटीमण्डपको आसपासमा हुनुपर्ने हाम्रो माग रहेको छ” ध्यानाकर्षण पत्रमा अगाडि भनिएको छ– “किनकि यस एरियामा अपाङ्गतासम्बन्धी सङ्घसंस्था, कलेज, स्कुल, अस्पताल, ज्येष्ठ नागरिकको संस्था र सहरको मूल केन्द्रसमेत भएकाले उक्त लोकेसनमा उचित व्यवस्थापन गर्नुपर्ने देखिन्छ ।”
संस्थाले आफूहरूको समस्याप्रति सम्पूर्ण सचेत नागरिक समुदाय, जेष्ठ नागरिकको संस्था, स्कुल, कलेज, काठमाडाँै महानगरपालिका, ट्राफिक कार्यालय, राष्ट्रिय मानवअधिकार आयोगलाई गम्भीर हुन आग्रह गरेको छ ।
