नयाँदिल्ली । कोरोना सङ्क्रमणको दोस्रो चरणको महामारी चलिरहेका बेला भारतले विश्वका ५२ देशबाट सहयोग प्राप्त गरेको छ ।
भारतलाई ती देशहरूले स्वास्थ्य सामग्री, उपकरणसहितका विभिन्न स्रोतसाधनको सहयोग गर्नुका साथै सहानुभूति पनि प्रकट गरेका थिए ।
महामारी फैलिएपछि विभिन्न अभाव र समस्या भएको भारतलाई ती देशको सहयोगकै कारणले महामारी व्यवस्थापन गर्न सजिलो भएको थियो ।
सुरुमा विभिन्न अभाव र समस्या भए पनि आन्तरिक स्रोतको व्यवस्थापन र वैदेशिक स्रोत र सहयोग प्राप्त भएपछि सजिलो भएको अधिकारीहरूले जनाएका छन् ।
राष्ट्रियसभाको बैठकमा विदेश मामिला राज्यमन्त्री भी. मुरलिधरणले मित्रराष्ट्रहरूको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभएको थियो ।
“दोस्रो चरणको महामारीका बेला हामीलाई धेरै मित्रराष्ट्रहरूले खुलेर सहयोग गर्नुभयो† सहानुभूति देखाउनुभयो† हामी उहाँहरूप्रति आभारी छौँ† धन्यवाद दिन चाहन्छौँ” उहाँले भन्नुभयो ।
विषेश गरेर विदेशी दाताहरूले दिएको उपकरण, औषधि, खोपलगायतका स्वास्थ्य सामग्रीले ठुलो राहत भएको पनि उहाँले जानकारी दिनुभयो ।
“आजको दिनसम्म हामीलाई ५२ देशले विभिन्न सहयोग दिएको देखिएको छ । उनीहरूले सरकारबाट सरकारलाई, संस्थाबाट संस्थालाई, कम्पनीबाट कम्पनीलाई वा व्यक्तिवाट व्यक्तिलाई दिएको पनि पाइएको छ” विदेश राज्यमन्त्री मुरलीधरणले भन्नुभयो । (रासस/एएनआई)