काबुल । अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा लुकेर बसेका २३ तालिबान लडाकु अफगान सुरक्षाबलको कारबाहीमा मारिएका छन् ।
फर्याब प्रान्तको पासतुन्कोट र आल्मार जिल्लामा लुकेका तालिबान लडाकुलक्षित अफगान सुरक्षाबलले बुधबार गरेको हवाइ कारबाहीमा परी २३ तालिबान लडाकु मारिएका सेनाका प्रवक्ता मोहमद हानिफ रेजाईले बिहिबार बताउनुभएको छ ।
बुधबार अपराह्न भएको यस हवाइ कारबाहीको क्रममा भारी सङ्ख्यामा हातहतियार, लडाकु समूहका चार वटा मोटरसाइकललगायतका सामग्री बरामद गरिएको पनि सरकारी स्रोतले जानकारी दिएको छ । तालिबानले नियन्त्रणमा लिएको अन्य प्रान्तमा पनि खोजी तथा सुरक्षा कारबाहीको कार्य जारी राखेको सरकारी सेनाले बताएको छ ।
फर्याब प्रान्तको प्रमुख भाग नियन्त्रणमा लिएर प्रान्तीय राजधानी मैमाना सहर कब्जा गर्न आक्रमण गरिरहेका तालिबान आतङ्कवादीले अहिले कुनै टिप्पणी गरेका छैनन् । (रासस/सिन्ह्वा)