सउल । कोरोना भाइरसको चौथो वेब आइरहेको भनिएको दक्षिण कोरियामा सङ्क्रमित दिन–प्रतिदिन बढ्दै गएको पाइएको छ । यहाँ सङ्क्रमितको सङ्ख्या बढेर हरेक दिन नयाँ नयाँ रेकर्डमा पुगेको देखिएको छ ।
यहाँका अधिकारीले मङ्गलबार यहाँ १ हजार ८९६ जना कोरोना भाइरसका सङ्क्रमित पाइएको बताएका छन् । यो सङ्ख्या कोरियामा एकैदिनमा देखिएको अहिलेसम्मकै सबैभन्दा धेरै हो । दक्षिण कोरियाका अधिकारीले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टायताको तथ्याङ्क हेर्दा कोभिड–१९ का सङ्क्रमित एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्ख्यामा भेटिएका छन् ।
दक्षिण कोरियाको राजधानी सोलबाट प्राप्त समाचारअनुसार यहाँ पछिल्लो थपिएका यी सङ्ख्यासँगै सङ्क्रमितको सङ्ख्या १ लाख ९३ हजारभन्दा बढी पुगेको छ ।
यहाँका अधिकारीहरूले दक्षिण कोरिया कोभिड सङ्क्रमणको चौथो वेबमा प्रवेश गरेको दुई हप्ता अघि नै बताएका थिए, जसका कारण यहाँको सरकारले स्वास्थ्य मापदण्ड अपनाउने काममा कडाइ गरेको छ । अधिकारीहरूले यही जुलाई १ देखि देशैभर देखिएको सङ्क्रमितको सङ्ख्या देशव्यापी तथ्याङ्कको हिसाब गर्दा अघिल्ला महिनाको तुलनामा हाल त्यहाँ सङ्क्रमितहरू कम्तीमा पनि ५८ प्रतिशत बढेका छन् ।
कोरिया सरकारले यहाँ कोरोना विरुद्धको खोपको अभियानलाई ब्यापक बनाइएको जनाएको छ । पछिल्लो समयमा सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि खोप अभियानलाई झन् तीव्र बनाइएको छ ।