बेइजिङ । मध्यचीनको हेनान प्रान्तमा व्यापक वर्षापछिको बाढी तथा डुबानका कारण बुधबार मध्याह्नसम्म कम्तीमा ७३ व्यक्तिको मृत्यु भएको प्रान्तीय सङ्टकालीन व्यवस्थापन विभागले जनाएको छ ।
गत जुलाई १६ बाट सुरु भएको यस व्यापक वर्षाको कारण १५० वटा जिल्लाको एक करोड ३६ लाख व्यक्ति प्रभावित भएका बताइएको छ । व्यापक वर्षापछिको बाढीको कारण १४ लाख ७० हजार व्यक्तिलाई बाढी प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको पनि समाचारमा जनाइएको छ ।
पिपुल्स लिबरेसन आर्मी (पीएलए) केन्द्रीय थिएटर कमान्डले हजारौँको सङ्ख्यामा सैनिक, सशस्त्र प्रहरीलाई बाढीमा फसेको मानिसलाई सुरक्षित रूपमा उद्धारको गर्नको पठाएको छ ।
झेङझाओको मौसम विभागले यस वर्षाको स्तरलाई एक हजार वर्षपछि आएको विपत्ति भनी वर्णन गरेको छ । हेनान प्रान्तभरि राहत वितरण र पुनः निर्माणको प्रयास भइरहेको जनाइएको छ । (रासस/एएनआई)