काबुल । अफगानिस्तानमा भएका विभिन्नि घटनामा परी कम्तीमा ८९ तालिबान लडाकु मारिएका छन् ।
सुरक्षाकर्मीको कारबाहीमा अरू ८२ लडाकु घाइते भएका सरकारी अधिकारीहरूले सोमबार जानकारी दिएका छन् । आइतबार बिहानदेखि सोमबार बिहानसम्मको अवधिमा यी घटना भएको रक्षा मन्त्रालयले जनाएको छ ।
सुरक्षाकर्मीहरूले देशको कुनार, कान्दाहार, हेरात, फराह, फर्याब, सामान्गन, हेल्मान्ड, निम्रोज, ताखार, कुन्दुज र कापिसा प्रान्तमा सुरक्षा कारबाही गरेका थिए । अफगानिस्तानकै घाज्नी प्रान्तअन्तर्गत पर्ने मलिस्तानमा भएको हिंसात्मक घटनामा भने कम्तीमा ४३ आमनागरिक र सुरक्षाकर्मीको मृत्यु भएको छ ।
लडाकुहरूको आक्रमणमा परी उनीहरूको मृत्यु भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।
‘तालिबान लडाकुहरू मालिस्तान जिल्लामा प्रवेश गरी युद्ध अपराध गरी आम नागरिकको हत्या गरेका छन्, हत्या गरिएकाहरू लडाइमा संलग्न थिएनन्’ स्थानीय नागरिक अधिकारकर्मी मिना नाडेरीले भने ।
लडाकुले स्थानीयको सम्पत्तिसमेत लुटपाट गरेको र सर्वसाधारणको वासस्थानमा आगजनीसमेत गरेका उनको दावी छ । (रासस/सिन्ह्वा)