भद्रपुर । पूर्वीनाका काँकडभित्ता हुँदै नेपाल प्रवेश गर्ने पर्यटकको सङ्ख्या आर्थिक वर्ष २०७७/७८ मा शून्य रहेको अध्यागमन कार्यालय झापाले जनाएको छ ।
कोभिड–१९ का कारण सरकारले पर्यटकलाई सीमानाकाबाट नेपाल प्रवेशमा रोक लगाएसँगै यो नाकाबाट नेपाल प्रवेश गर्ने पर्यटकको सङ्ख्या शून्य भएको हो ।
अध्यागमन कार्यालय काँकडभित्ताका प्रमुख जनक कोइरालाले कोरोना महामारीका कारण आर्थिक वर्ष २०७६/७७ को चैत ११ गतेदेखि हालसम्मको अवधिमा एक जना पर्यटक पनि नेपाल प्रवेश नगरेको बताउनुभयो । नेपाल सरकारले विदेशी पर्यटकलाई हवाइ मार्गबाट मात्र नेपालमा प्रवेश खुल्ला गरेको तर सीमानाकाबाट अझै प्रवेशमा रोक लगाइरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार यो नाका भएर विदेश जाने पर्यटकका लागि १५ महिनाको अवधिमा एउटै पनि भिसा जारी भएको छैन ।
उहाँले भारतीय नाकासम्म आएका पर्यटले नेपाल घुम्न आउनका लागि अध्यागमन कार्यालयमा सम्पर्क गरिरहेको बताउनुभयो ।
‘धेरै तेस्रो मुलुकबाट आउने पर्यटकले नेपाल घुम्नका लागि आएका छौँ, व्यवस्था मिलाइदिनुपर्यो भनेर भारतीय सीमाक्षेत्रमा आएर सम्पर्क गर्नुहुन्छ’ उहाँले भन्नुभयो– ‘तर कोभिड–१९ का कारण नाकाबाट अहिले तपाईंहरूलाई प्रवेश निषेध छ । काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आउनुहोस् भनेर अनुरोध गर्छौं ।’