काठमाडौँ । काठमाडौँ उपत्यकामा आगामी साउन २० गतेसम्मका लागि फेरि निषेधाज्ञा थप गरिएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको साउन १० गतेको बैठकले सो निर्णय गरेको हो ।
निर्णयानुसार सबै प्रकारका सम्मेलन, पार्टीप्यालेस, सिनेमाहल, डान्सबार, दोहोरी नाचघर, क्लब, स्विमिङपुल, मनोरञ्जन स्थल, रङ्गशाला सञ्चालनमा लगाइएको रोक यथावत नै रहेको छ ।
त्यसैगरी, खुला स्थानमा मानिसहरू भेला जम्मा हुन, भिडभाड गर्न, सभाजुलुस गर्न तथा भोजभतेर गर्न पनि रोक लगाइएको छ ।
एवम् प्रकारले, नित्य पूजाबाहेक धार्मिक तथा सांस्कृतिक गतिविधि गर्नसमेत रोक लगाइएको छ ।
शैक्षिक संस्था पनि बन्द नै रहने छन् भने स्थानीय ढुवानी बिहान ९ देखि ११ बजेसम्म र दिउँसो ४ देखि ७ बजेसम्म सञ्चालन गर्न नपाइने पनि प्रशासनको सूचनामा उल्लेख छ ।
यसका साथै परीक्षा तथा सार्वजनिक यातायात स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालन गर्ने, लामो दुरीका यातायात सञ्चालन हुन दिने, पसल व्यवसाय साँझ ७ बजेसम्म सञ्चालन गर्न दिनेलगायतका निर्णय भएका छन् ।
