काठमाडौं । कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको तीन वर्ष पुरा भएको छ । २०७५ साउन १० गते साथीको घरमा गृहकार्य गर्न भनी गएकी कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया निर्मला पन्त भोलिपल्ट स्थानीय उखुबारीमा मृत भेटिएकी थिइन्।
उनको बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । तीन वर्ष बितिसक्दासमेत सो घटनाका दोषी पत्ता लाग्न सकेको छैन । पूर्ववर्ती केपी ओली नेतृत्वको सरकारले निर्मलाका दोषी पत्ता लगाउन नसकेको भनेर ब्यापक आलोचना भएको थियो । अब नेपाली कांग्रेस नेतृत्वको सरकारले दोषी पत्ता लगाउनुपर्ने कांग्रेसकै नेताहरू बताउँछन् । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले निर्मलालाई न्याय दिन सरकारसँग आग्रह गर्नुभएको छ ।
‘बालिका निर्मला पन्तको प्रकरण आज साउन १० गते ३ वर्ष पुग्यो। सम्माननीय प्रधानमन्त्री र माननीय गृहमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु,’ आइतबार शर्माले सामाजिक सञ्जालमार्फत भन्नुभएको छ, ‘प्रतिपक्षमा छँदा प्रश्न थिए हामीसँग। हामीसँग सत्तारूढ बनेपछिको समयले जवाफ माग्छ।’
भर्खर बनेको सरकारले अब गहन दायित्व निर्वाह गर्न गम्भीर बन्ने अपेक्षा गरिएको कांग्रेस प्रवक्ता शर्माले उल्लेख गर्नुभएको छ ।
बालिका निर्मला पन्तको प्रकरण आज साउन १० गते ३ बर्ष पुग्यो l सम्माननिय @PM_nepal_ र माननीय गृहमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु l
प्रतिपक्षमा छंदा प्रश्न थिए हामीसंग l सत्तारूढ बनेपछिको समयले जवाफ माग्छ l सरकार भर्खर बनेको छ, अब गहन दायित्व निभाउन बिशेष गम्भीरता अपेक्षित छ l pic.twitter.com/fgEW6IExgd
— Bishwa Prakash शर्मा (@bishwaprakash77) July 25, 2021
‘बालिका र महिलाउपर हिंसा, बलात्कार र हत्याको अनेक घटना देशले जो बेहोर्दै आयो, त्यो नियन्त्रण गर्न राज्यको कठोरतासँगै राजनीतिक द्वन्द्व भन्दामाथि सामाजिक रूपान्तरणको साझा अठोट र अभियान जरुरी छ,’ शर्माले भन्नुभएको छ, ‘निर्मलालाई न्यायसँगै, कसैले पनि यस्तो नियति भोग्न नपरोस्, विशेष तदारुकता बढाऔं ।’
अहिले कांग्रेस नेतृत्वको गठबन्धन सरकारमा गृहमन्त्री पनि कांग्रेसकै छन् । हिजो प्रतिपक्षमा बसेर प्रश्न उठाएको कांग्रेसले अब सत्तामा बसेपछि जवाफ दिनुपर्ने प्रवक्ता शर्माको भनाई छ ।