काबुल । सुरक्षाकर्मीको हवाइ आक्रमणमा परी अफगानिस्तानमा कम्तीमा ३० जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये सबै जना तालिबान लडाकु रहेको रक्षा मन्त्रालयका उच्च अधिकारीले पुष्टि गरेका छन् ।
घटनामा परी अरू १७ जना घाइतेसमेत भएको अधिकारीले जानकारी दिएका छन् । साउन ८ गते दुई प्रान्तमा उक्त घटना भएको जनाइएको छ ।
देशको उत्तरी क्षेत्रमा पर्ने जावज्जान प्रान्तमा १९ जनाको मृत्यु भएको थियो भने १७ जना घाइते भएका थिए । मुर्घाब र हसानमा रहेको तालिबान लडाकुको आश्रयस्थललाई लक्षित गरेर सुरक्षाकर्मीले हवाइ आक्रमण गरेका थिए ।
त्यसैगरी, हेल्मन्ड प्रान्तको लस्करगाहमा पनि सुरक्षाकर्मीले हवाइ आक्रमण गरेका थिए । घटनास्थलबाट सुरक्षाकर्मीले सवारी साधन, बङ्कर, विस्फोटक पदार्थलगायतका लडाकुले प्रयोग गर्ने गरेको सामग्री पनि बरामद गरेका छन् ।
लामो समयदेखि आन्तरिक द्वन्द्व चलिरहेको अफगानिस्तानमा द्वन्द्व अन्त्यका लागि प्रयासहरू भइरहे पनि टुङ्गिन सकेको छैन । द्वन्द्वका कारण अहिलेसम्म अफगानिस्तानमा हजाराँैको मृत्यु भएको छ भने लाखौँ विस्थापित भएका छन् । (रासस/एएनआई)