वासिङटन । अमेरिकी राष्ट्रपति जो बाइडेन र जोर्डनका राजामाझ द्विपक्षीय हित र अन्य आपसी सम्बन्धका विषयमा वार्ता भएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेन र जोर्डनका राजा अब्दुल्लाह द्वितीयमाझ सोमबार भेटवार्ता भएको ह्वाइट हाउसले जनाएको छ ।
त्यस क्रममा उहाँहरूबिच अन्य क्षेत्रीय विषयमा पनि कुराकानी भएको बताइएको छ । जोर्डनका राजा अब्दुल्लाह द्वितीय हाल अमेरिकाको भ्रमणमा हुनुहुन्छ । ह्वाइट हाउसले प्रकाशन गरेको विज्ञप्तिका अनुसार अमेरिकी राष्ट्रपति बाइडेनले अमेरिका जोर्डनसँगको आपसी समझदारी र सहयोगलाई निरन्तरता दिन चाहेको बताउनुभएको थियो ।
इजरायल प्यालेस्टाइनमाझको विवादमा जोर्डनले खेलेको भूमिकाको अमेरिकी राष्ट्रपति बाइडेनले प्रशंसा गर्नुभएको पनि सो विज्ञप्तिमा जनाइएको छ । हालै मात्र इराकको राजधानी बगदादमा इराक, जोर्डन र इजिप्टका माझमा त्रिपक्षीय सम्मेलन पनि भएको थियो ।
अमेरिकी राष्ट्रपति बाइडेनले सो सम्मेलनमा जोर्डनको भूमिकाको सराहना गर्नुभएको पनि ह्वाइट हाउसले जनाएको छ । उहाँहरूमाझ सिरियाको बारेमा पनि कुराकानी भएको थियो । (रासस/सिन्ह्वा)