लन्डन । बेलायतमा कोरोना सङ्क्रमण बढ्दै गएको पाइएको छ । यहाँ पछिल्लो हप्ता हरेक दिनजसो सङ्क्रमित बढेका हुन् ।
दुई महिनाअघि देखि निकै शक्तिशाली रूपमा देखा परेको इन्डियन कोभिड भेरियन्टको सङ्क्रमण बेलायतमा हाल तीव्र रूपमा बढ्न थालेको बताइएको हो ।
यहाँ गत २४ घन्टाभित्र ४८ हजारभन्दा बढी सङ्क्रमित देखिएका प्राप्त समाचारमा जनाइएको छ । योसमेत गरी बेलायतमा अहिलेसम्म सङ्क्रमित हुने व्यक्तिको सङ्ख्या ५४ लाख ३३ हजार पुगेको पनि समाचारमा जनाइएको छ । साथै गएको २४ घन्टाभित्र यस सङ्क्रमणबाट २५ जनाको निधन भएको छ । योसमेत गरी बेलायतमा कोरोना सङ्क्रमणबाट निधन हुने व्यक्तिको सङ्ख्या १ लाख २८ हजार भन्दा बढी पुगेको बताइएको छ ।
बेलायतमा पछिल्लो समयमा यसको सङ्क्रमण बढेको तथ्याङ्कले देखाएको छ । बेलायतमा पछिल्लो समयमा इन्डियन कोभिड भेरियन्टको सङ्क्रमण फैलिएको बताइएको छ । यो भेरियन्ट पहिलाको तुलनामा बढी सङ्क्रामक रहेकोले विज्ञले बताएका छन् ।
बेलायतमा ८८ प्रतिशत वयस्कले कोरोना विरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् भने अरू ६८ प्रतिशतले दोस्रो मात्रा लिएको बताइएको छ ।
बेलायतका स्वास्थ्यमन्त्रीले यो खोपको वितरणको कार्यलाई प्राथमिकतामा राखिएको बताउनुभएको छ । बेलायतमा खोप लगाउने कामलाई निकै प्राथमिकतामा राखिएको भए पनि यहाँ सङ्क्रमित थपिने क्रम भने रोकिएको छैन । पछिल्ला हप्तामा मृत्युदर भने कम भएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । (रासस/सिन्ह्वा)