इस्लामावाद । पाकिस्तानका पूर्व राष्ट्रपति ममनुन हुसेनको बुधवार कराँचीमा निधन भएको छ । लामो समय बिरामी रहनुभएका उहाँको ८० वर्षको उमेरमा निधन भएको हो ।
पाकिस्तान मुस्लिम लिग (पिएमएल) को तर्फबाट राष्ट्रपति बनेका हुसेनले २०१३ देखि २०१८ सम्म पाकिस्तानको बाह्रौँ राष्ट्रपतिको रूपमा सेवा गर्नुभएको थियो । उहाँ पछि पाकिस्तानी राष्ट्रपतिमा आसिफ अली जरदारीले तेह्रौँ पाकिस्तानी राष्ट्रपति रूपमा काम गर्नुभएको थियो ।
गत वर्ष फेबु्रअरीमा उहाँलाई क्यान्सर भएको पत्ता लागेको थियो भने केही दिनदेखि उहाँलाई कराँचीको एक निजी अस्पतालमा उपचार चलिरहेको थियो । उहाँको उपचारका क्रममा निधन भएको हो । हुसेनका श्रीमती र तीन छोरा छन् ।
राष्ट्रपति आरिफ अल्वीले हुसेनको निधनमा दुःख व्यक्त गर्दै शोक व्यक्त गर्नुभएको छ । उहाँले उहाँको परिवारको पीडा पनि साझा बताउनुभएको छ ।
पिएमएल–एनका राष्ट्रपति सहबाज शरिफले पनि हुसेनको मृत्युमा दुःख व्यक्त गर्नुभएको छ । उहाँको शोक सन्देशमा भनिएको छ– ‘हामीले अहिले पाकिस्तानलाई माया गर्ने एक असल व्यक्तित्वलाई गुमाएका छौँ ।’
त्यसैगरी पिएमएल–एनका अध्यक्ष सहबाज शरिफ, पाकिस्तानी सेनापति कमार जावेद बाजवालगायत पाकिस्तानी उच्च पदस्थ अधिकारीले हुसेनको मृत्युप्रति दुःख व्यक्त गर्नुभएको छ ।
अल्लाहले उहाँको आत्माको मुक्तिका लागि कामना गर्नुभएको छ । साथै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै उहाँको निधन पाकिस्तानको लागि अपूरणीय क्षति भएको उहाँहरूले बताउनुभएको छ ।