अल्जियर्स । अल्जेरियाका प्रधानमन्त्री अयमान बेनाब्डेराहमन कोरोनाबाट सङ्क्रमित हुनुभएको छ ।
Advertisement
स्वाब परीक्षण गर्दा उहाँमा सङ्क्रमण पुष्टि भएको सरकारी अधिकारीहरूले शनिबार जानकारी दिएका हुन् ।
सङ्क्रमण पुष्टि भएपछि प्रधानमन्त्री बेनाब्डेराहमन अहिले छुट्टै बस्न थाल्नुभएको छ । उहाँले कोरोनासम्बन्धी मापदण्डको पालना पनि गर्नुभएको उहाँको सचिवालयले जानकारी दिएको छ । घरभित्र छुट्टै बसे पनि उहाँले कतिपय काम भने गर्नुभएको सचिवालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।
उहाँलाई सङ्क्रमण पुष्टि भए पनि अवस्था भने सामान्य नै रहेको जनाइएको छ । उहाँलाई देशका वरिष्ठ चिकित्सकको निगरानी पनि रहेको छ ।
बेनाब्डेराहमन यही जुन ३० तारिखमा अल्जेरियाको प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । अल्जेरियामा पछिल्ला केही दिनदेखि कोरोनाको सङ्क्रमण अत्यधिक वृद्धि भएको छ ।