सञ्चिता घिमिरे, काठमाडौँ ।
काठमाडौँ उपत्यकामा पुनःमेलम्चीको पानी ल्याउन कम्तीमा तीन महीना लाग्ने देखिएको छ । मेलम्ची खानेपानी विकास समितिले स्थानीय तह र सङ्घका सम्बन्धित निकायसँगको समन्वयमा असोजको अन्तिमसम्ममा पानी पुनः सुन्दरीजल ल्याउने लक्ष्य लिएर मर्मत अघि बढाइने भएको छ ।
सो आयोजनास्थलसम्म पुग्न सडक, पुललगायतका संरचनामा क्षति पुगेको छ भने निर्माणस्थलका कतिपय संरचनामा समेत क्षति पुगेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।
अहिले सडक खुलाएर र बेलिब्रिज राखेर आयोजना स्थलसम्म पुग्न सकेमा अस्थायी बाँधबाट भए पनि पानी ल्याउने लक्ष्य लिइएको समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताउनुभयो । उहाँका अनुसार वर्षाभरमा नै प्रवेशमार्ग र पुल बनाउन सकियो भने अबका तीन महीनामा पानी सुन्दरीजल झार्न सकिने छ ।
अझै पनि वर्षा कति लम्बिन्छ वा वर्षाले संरचनामा अझै कति क्षति गर्छ भन्ने यकिन नभएकाले कति समयमा पुनः पानी ल्याउन सकिन्छ भनी यकिन नभएको उहाँले बताउनुभयो ।
भदौसम्ममा हेडवर्कसम्म पुग्न सकेमा असोजमा सुरुङको लेदो सफा गर्न सकिने समितिले जनाएको छ । सुधारका काम लामो समय लागेमा पानी सुन्दरीजल आउने अवधि अझै लम्बिन सक्ने देखिएको छ ।
पछिल्लो समय चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले आयोजनाका बाँकी निर्माण अघि बढाइरहेको छ । आयोजनअन्तर्गतको सुरुङ, हेडवर्क र पानी प्रशोधन केन्द्रमध्ये अहिले हेडवर्क मात्रै सम्पन्न हुन बाँकी छ । हेडवर्क निर्माणको ठेक्का नसकिएकाले कम्पनीले नै मर्मतको समेत काम गर्ने सूचना अधिकारी पन्तले बताउनुभयो । अरू संरचनामा भने सोही कम्पनीले गर्ने वा अरूले गर्ने कि भन्ने टुङ्गो लाग्न बाँकी छ ।
समितिले आयोजनाको मर्मतको कामलाई तत्काल र दीर्घकालीन काम गरी छुट्याएको छ । तत्काल गर्नुपर्ने काममा प्रवेशमार्ग निर्माण र मर्मतको काम रहेको छ ।
अम्बाथान अडिट र डाइभर्सन टर्नेल खोल्दासम्म मेलम्ची नदीमा पानी सफा भयो भने पुनःडाइभर्सन गनरेर पानी ल्याउन सकिने समितिले जनाएको छ ।
अहिले पुनःमेलम्चीको पानी सुन्दरीजल झार्नका लागि सडक, पुलको निर्माण र डेडवर्कसम्म सफा गर्ने काम तत्काल गर्नुपर्ने देखिएको छ । आयोजना मर्मतसँगै सडक र पुल मर्मत गर्नुपर्ने भएकाले यसमा सङ्घीय सरकारअन्तर्गतकै सडक विभाग, सेना र समिति गरी तीन निकाय जोडिएका छन् ।
त्यस्तै तत्कालका लागि आयोजनास्थलसम्म पुग्न स्थानीय तहको सहयोगमा सडक खुलाउन सकिन्छ । हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकासँगको समन्वयमा उनीहरुसँग रहेका डोजर, तार जाली प्रयोग गर्न सकिने बताइएको छ ।
सडक पूरै अवरुद्ध भएर निर्माणस्थलसम्म पुग्न नसकिएकाले समितिले अहिले ड्रोनबाट नै त्यहाँ भएको क्षतिको अध्ययन गरिरहेको छ । केही दिनमा नै खानेपानी मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, वन तथा भूसंरक्षण विभाग, राष्ट्रिय निकुञ्जलगायतका सरोकार राख्ने निकायका प्रतिनिधि जहाँसम्म सकिन्छ त्यहाँसम्म जाने योजना बनाइएको छ । टोलीले त्यहाँ पुगेर स्थानीयसँग छलफल र त्यहाँको क्षतिको अध्ययन गर्ने छ ।
समितिको मेलम्ची, पुलबजारस्थित कार्यालयका प्रतिनिधिसमेत अझै अम्बाथानसम्म पुग्न सकेका छैनन् । केही दिन पहिले प्राविधिकसहितको टोली पैदल हिँडेर किउलसम्म पुगेर फर्किएको थियो ।
आयोजनामा तत्काल गर्नुपर्ने मात्रै नभएर आगामी आवमा समेत आयोजनामा क्षति नपुगोस् भनी संरक्षणका कामसमेत गरी रु दुई अर्ब खर्च गर्नुपर्ने देखिएको छ ।
अहिले तत्काल बेलिब्रिज निर्माण गरेर यातायात सञ्चालन हुने छ भने दीर्घकालीन रूपमा कङ्क्रिटको नै पुल निर्माण हुने छ । अहिले भइरहेको पुलभन्दा उचाइ बढाएर र ठूलो पुल बनाउनुपर्ने हुन्छ । अहिले तत्काल पहिरो हटाएर सडक सञ्चालन गरिएपछि दीर्घकालीन रूपमा त्यही ठाउँबाट नै कालोपत्र सडक निर्माण गर्नुपर्ने हुन्छ । (रासस)
