मार्तडी । बैतडीमा ३० भन्दा बढी बस्ती पहिरोको उच्च जोखिममा रहेको पाइएको छ । जिल्लाले हालै तयार पारेको “मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना–२०७८” र “बिपत् पूर्वतयारी तथा प्रतिकार्य योजना” मा सो किटानी गरिएको हो ।
जिल्ला बिपत् व्यवस्थापन समितिले पारित गरेको बिपत् पूर्वतयारी तथा प्रतिकार्य योजना–२०७८ मा जिल्लाका ३० भन्दा बढी बस्ती पहिराको उच्च जोखिममा रहेको जनाइएको छ । दोगडाकेदार गाउँपालिका–६ को सित्तड, पञ्ज्युनयाँ, वडा नं. ८ को कालागाउँ, वडा नं. ३ कुकुडेपानी र श्रीकोटमा पहिराको उच्च जोखिम छ ।
त्यस्तै, मेलौली नगरपालिकाको वडा नं. १ जर्कुधार, नागनी, सिराडसेला, वडा नं. ३ को कुचगाड, गगनरोडा, पोखरी, वडा नं. ७ को तोल्या, वडा नं. ८ को ल्वास, गैरी, मटुवा, खोली, वडा नं. ९ को काँकडी, कोल्तडी, असुर र कमेट्ठामा पनि पहिराको जोखिम रहेको जिल्ला बिपत् व्यवस्थापन समितिले जनाएको छ ।
डिलाशैनी गाउँपालिकाको वडा नं. ६ को बाङ्गाबगर, सौनागाउँ, वडा नं ३ को रुद्रेश्वरमा पहिराको जोखिम रहेको योजनामा उल्लेख गरिएको छ । सुर्नया गाउँपालिकाको वडा नं. ८ ढोल्या, वडा नं. ३ भौनेली, पाटन नगरपालिकाको वडा नं. ८ सिद्धेश्वर पनि पहिराको उच्च जोखिममा रहेको जनाइएको छ ।
त्यस्तै, सिगास गाउँपालिकाको ढुङ्गाड, पञ्चेश्वर गाउँपालिकाको वडा नं. २ को गनकट्टे, चनतडा, बसेक, सन्तुला, डिम्बर र वडा नं. ६ को रोडीदेवल बस्ती पहिराको उच्च जोखिममा रहेको छ । एवम् प्रकारले पुर्चौंडी नगरपालिका–८ मल्लादेही पनि पहिराको जोखिममा रहेको जनाइएको छ ।
यसैबिच, बिपत्को बेला राहत तथा उद्धारका लागि पनि जनशक्ति तयारी अवस्थामा रहेको जनाइएको छ । बिपत्का बेला उद्धारका लागि बैतडीमा ५०२ सुरक्षाकर्मी तयारी अवस्थामा रहेको जिल्ला बिपत् व्यवस्थापन समितिले जनाएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी ५०२ जना तयारी अवस्थामा रहेका हुन् ।
यस्तै, बिपत्का बेला आवश्यक पर्ने उद्धारका सामग्रीको विवरण पनि सार्वजनिक गरिएको छ । डोजर तथा एक्साभेटर, ट्र्याक्टर, आश्रयस्थल, तारजाली, ट्युब, वाटर ट्याङ्कर, रबरबोटलगायतका ५२ किसिमका सामग्री तयारी अवस्थामा रहेको पनि बिपत् व्यस्थापन समितिले जनाएको छ । (रासस)
