जेनेभा । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटर्रेसले जापानमा हालै आएको बाढी र पहिरोमा परी नागरिकको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।
राष्ट्रसङ्घीय महासचिव गुटर्रेसका प्रवक्ताले सोमबार एक विज्ञप्तिमार्फत् सो कुराको जानकारी दिनुभएको हो । उहाँले महासचिव गुटर्रेसले सो घटनाले आफूलाई दुःखी बनाएको बताउनुभएको विज्ञप्तिमा जनाइएको छ ।
महासचिव गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकद्धारा जारी सो विज्ञप्तिमा महासचिव गुटर्रेसले उक्त पहिरोमा परी ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ र घाइतेको स्वास्थ्य लाभको कामना पनि गर्नुभएको छ ।
यस्तो अप्ठेरो परिस्थितिमा महासचिव गुटरेसले आपूm र संयुक्त राष्ट्र सङ्घ जापान सरकार र जापानी नागरिकको पक्षमा रहेको पनि बताउनुभएको छ । जापानको आतमी प्रिफेक्चरमा हालैको अविरल वर्षा र त्यसपछिको पहिरोमा परी दुई जनाको निधन भएको थियो भने अरू २० जना अहिले पनि हराइरहेका छन् ।
तीन दिनअघिको सो पहिरोमा परी हराएका व्यक्ति अब भने भेटिने आस नरेको जापानको उद्धारकर्ताले जनाएका छन् । (रासस/सिन्ह्वा)