काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले यस आर्थिक वर्षमा मात्रै हराएका चार सय १३ वटा मोटरसाइकल खोजतलास गरी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । यस्तै, चोरीमा संलग्न ५१ जना व्यक्ति पक्राउ परेका छन् ।
महाशाखाले निषेधाज्ञाको समयमा हराएका मोटरसाइकल नियन्त्रणमा लिई धनीलाई हस्तान्तरण गरेको छ । कोभिड–१९ महामारी नियन्त्रण, रोकथाम तथा उपचारको लागि सरकारले जारी गरेको निषेधाज्ञाको समयमा विभिन्न स्थानबाट हराएका मोटरसाइकल र स्कुटरलाई मङ्गलबार महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले सम्बन्धित धनीलाई हस्तान्तरण गर्नुभएको हो ।
हस्तान्तरण गरिएकोमा ३३ वटा मोटरसाइकल र आठ वटा स्कुटर छन् । पछिल्लो समय चोरी भएर पक्राउ गरेको अधिकांश मोटरसाइकल बजाज, पल्सर र हिरो होन्डा कम्पनीका रहेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । विशेष गरेर चोरी गर्ने समूहले सस्तो, सुलभ, आकर्षक र बढी डिमान्ड हुने खालका मोटरसाइकल र स्कुटर चोरी गर्ने गरेको पाइएको छ ।
युवा पुस्ताको रोजाइ र ग्रामीण भेगमा समेत माग बढी भएकाले पल्सर मोटरसाइकल बढी चोरी हुने गरेको बुझाइ महाशाखाको छ । हराएको सवारी साधन फेला परेपछि सवारी धनी पनि खुसी भएका छन् । उनीहरूले प्रहरीले चाहेमा चोरीको जस्तो सामान पनि फेला पार्ने र संलग्नलाई नियन्त्रणमा लिन सक्ने भन्दै महाशाखालाई धन्यवाद दिएका छन् ।