लक्ष्मी चौधरी, काठमाडौं ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संयुक्त कार्यक्रमलाई सबै पक्षले इमान्दारीपूर्वक पालना गर्नुपर्ने बताउनुभएको छ ।
बिहीबार बाग्लुङमा प्रदेशसभा सदस्य पदको लागि खिमविक्रम शाहीको उम्मेद्वारी दर्तापछि आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले संयुक्त कार्यक्रमको आचरण मतभेदका बाबजुद इमान्दारीपूर्वक कार्यान्वयन गर्नु रहेको बताउनुभयो ।
उपनिर्वाचनमा तालमेलका लागि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालसँग भएको सहमतिबारे केसीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘केही दिन पहिले नै मैले नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री लगायतका नेताहरुसँग भेटेर चुनावको विषयमा छलफल गरेको थिएँ । विगतको निर्वाचनमा जसले जहाँ जितेका थिए, त्यसलाई अर्को पक्षले सर्मथन गर्ने सहमति भएको थियो । यो सहमतिलाई दुबै दलका नेता कार्यकर्ताहरुले इमानदारीतापूर्वक कार्यन्वयन गर्नुपर्छ ।’
अध्यक्ष केसीले आफूहरुबीचको सहमतीलाई इमान्दारीकासाथ कार्यन्वयन गरे कुनै पनि ठाउँमा हार्न नपर्ने बताउनुभयो । ‘विगतका चुनावमा पनि हामी नमिलेका कारणले, हाम्रा कमजोरीका कारणले हामीलाई असफता मिलेको हो’ केसीले भन्नुभयो ।
अध्यक्ष केसीले आफ्नो मतभेद पुष्पलालदेखि मदन भण्डारीसम्म रहेको स्मरण गर्दै सैद्धान्तिक, राजनीतिक मतभेदका बावजुद कतिपय सवालमा कार्यगत एकता गरेको उल्लेख गर्नुभयो ।
केसीले सम्बोधनका क्रममा भारतले कालापानीमा गरेको अतिक्रमणको विरोध गर्दै त्यस विरुद्ध वामपन्थी देशभक्त शक्तिहरु एकजुट हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका नेता एवं प्रतिनिधि सभा सदस्य देवेन्द्र पौडेलले केन्द्रमा भएको सहमति सबै ठाउँमा इमान्दारितापूर्वक पालना गर्न पार्टीका नेता कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । नेता पौडेलले कार्यकर्तामा केही सामान्य असन्तुष्टि देखिएपनि त्यो चाँडै नै हल गरिने बताउनुभयो ।
यता, बाग्लुङ २(ख) का उम्मेद्वार खिमविक्रम शाहीले आफूहरुले चुनाव जितिसकेको बरु कति मतले अगाडि जाने भन्ने परिणाम हेर्न मात्रै बाँकी रहेको बताउनुभयो । शाहीले तालमेलका साथ उम्मेद्वारी दिएकाले सबैको सल्लाह सुझाव लिएर अघि बढ्ने प्रतिवद्धता पनि ब्यक्त गर्नुभयो ।
त्यस अवसरमा उहाँले पूर्व सांसद टेकबहादुर घर्तीलाई स्मरण गर्दै स्वर्गीय घर्तीले देखाएको बाटोमा दृढतापूर्वक अघि बढ्नुपर्ने बताउनुभयो ।
उम्मेद्वार मनोनयन दर्ता गराउनु अघि राजमोको कार्यालयबाट अगाडि बढेका जुलुस नेकपाको कार्यालय हल्लनचोक हुदै जिल्ला निर्वाचन कार्यालयमा पुगेको थियो । दर्ता पछी बसपार्क, जिल्ला प्रसाशन, लालीगुराँस चोक हुँदै लोकतान्त्रिक चोकमा पुगी सभामा परिणत भएको थियो ।
उम्मेद्वार परिचय सभाको सञ्चालन जिल्ला समन्वय समितिका उपप्रमुख विष्णु प्रसाद भुसाल तथा अध्यक्षता राष्ट्रिय जनमोर्चा बाग्लुङ जिल्ला अध्यक्ष अमर थापाले गर्नुभएको थियो ।
कार्यक्रममा नेकपाका नेता एवं सांसद देवेन्द्र पौडेल, नेकपाका जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटा, नेकपाका नेता गोविन्द नेपाली, प्रदेश सांसदद्वय कृष्ण थापा र वलावती शर्मा, राजमो नेता धर्म बहादुर कुवँर एवं नेकपाका नेताहरु मोहनलाल शर्मा र प्रेम घर्ती लगायतले बोल्नुभएको थियो ।