बेइजिङ । संयुक्त राष्ट्रसङ्घका पूर्व महासचिव बान की मुनले कोरोना विरुद्धको खोप वितरणको काममा समानता हुनुपर्ने बताउनुभएको छ ।
उहाँले यो महामारीले विश्वलाई नै उत्तिकै असर गरिरहेकाले सबै देशले यो खोपको उपलब्धतामा समान व्यवहार अपनाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले अहिले यो खोपको उत्पादन र वितरणका क्षेत्रमा काम गरिहेका देशले अहिलेको प्रयासलाई थप दोब्बर बनाउनुपर्नेमा जोड दिनुभयो ।
एक भिडियो कन्फ्रेन्समा बोल्दै उहाँले भन्नुभयो– ‘यो अवस्थामा विश्वलाई नै कोरोना महामारीबाट बचाउनुपर्छ र त्यसका लागि विश्वका सबै देशका नागरिकमा खोपको उपलब्धता हुनु जरुरी छ ।’
उहाँले अहिले जलवायु परिवर्तनको चपेटामा पनि मानिस परिररहेका प्रसङ्ग उल्लेख गर्दै जलवायु परिवर्तनले मानिसहरूको विस्तारै अर्थात नजानिँदो रूपले ज्यान लिइरहेको छ र कोरोनाले चाँडो चाँडो ज्यान लिएको छ भन्नुभयो ।
यी दुवै समस्याका विरुद्धमा विश्व एक भएर लड्नुपर्नेमा पनि उहाँले सो कन्फ्रेन्समा जोड दिनुभएको थियो । (रासस–एएफपी)