लिवाङ । रोल्पा जिल्लाको निर्माणाधीन १५ सैयाको सुनिलस्मृति गाउँपालिका स्तरीय अस्पताल सोही गाउँपालिकाको वडा नं. ४ को बाउबाङमा बनाउन आग्रह गरिएको छ ।
२०७८ असार २० गते पाँच राजनीतिक दलका प्रतिनिधि, रोल्पा उद्योग वाणिज्य महासङ्घ र समाजसेवीसहितको प्रतिनिधि मण्डलले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै सो माग गरेका हुन् ।
ज्ञापनपत्रमा बाउबाङमा अस्पताल बनाउँदा सुनिलस्मृति गाउँपालिकाको मात्र नभई रोल्पाको क्षेत्र नं. १ का सबै जनताका लागि समेत पायक पर्ने बताइएको छ ।
त्यसैगरी उनीहरूले ज्ञापनमा सो स्थानका लागि स्वतःस्फूर्त रूपमा जग्गादाताले जग्गादान गर्ने मञ्जुरीनामा समेत गरिसकेको पनि उल्लेख गरिएको छ ।
ज्ञापनपत्रमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष मेघनाथ विष्ट, नेकपा (एमाले) लुम्बिनी प्रदेश सदस्य खिमचन्द्र पुनमगर, नेकपा (माओवादी–केन्द्र) का सचिव शेरबहादुर महरा, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष अमरबहादुर थापा, रोल्पा उद्योग वाणिज्य सङ्घका महासचिव मिलन रोकामगर र समाजसेवी भूपनारायण घर्तीमगरको हस्ताक्षर रहेको छ ।
