नारायणगढ । चितवनमा दुई वर्षभन्दा साना बच्चा छाडेर विदेश जान नपाइने भएको छ । रत्ननगर नगरपालिकाले बच्चा दुई वर्ष नहुँदै आमा, बुवा, सासुआमा र ससुरालाई जिम्मा लगाएर विदेश जान महिलालाई अनुमति नदिनेसहित १७ बुँदे प्रस्ताव पारित गरेको हो ।
यही असार ६ गते सुरु भएको नगरसभाअन्तर्गत विभिन्न चरणमा बजेट, नीति तथा कार्यक्रमसहित प्रस्तावमा छलफल गरी समापन गरिएको हो ।
नगरपालिकाले आर्थिक वर्ष २०७८÷७९ को लागि रु. एक अर्ब २६ करोडको बजेट पारित गरेको छ । नीति तथा कार्यक्रमअन्तर्गत १४ वटा नगरका र १३ वटा लागत साझेदारी गौरवको योजना पारित गरेको छ ।
नगरसभाले बालविवाह, सडक मानवमुक्त नगरपालिका घोषणा गर्ने, जन्म, मृत्यु, विवाह, सम्बन्ध–विच्छेद र बसाइँसराइ तोकिएको समय भित्र गरी पञ्जीकरणलाई व्यवस्थित गर्ने, नगर भित्र जग्गा प्लटिङ गरी घडेरी व्यवस्थापन गर्ने व्यक्ति वा संस्थाले नगरपालिकाबाट पूर्व अनुमती लिनु पर्ने प्रस्ताव पारित गरेको छ ।
यस्तै अन्य प्रस्तावमा सामुदायिक विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र शिक्षकले आफ्ना छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने, नगरसभाबाट पारित भएको बजेट शीर्षक र रकम सभाको अनुमतिमा मात्र शीर्षकान्तर गर्ने, पर्यटन प्रहरीको भवन निर्माण गर्न डेढ कठ्ठा जग्गा उपलब्ध गराउने प्रस्ताव पारित गरिएको छ ।
त्यसैगरी नगरपालिकाले पूर्वाधार निर्माण गर्दा भवनले चर्चेको जग्गा नगरपालिकाको नाममा ल्याउन प्रक्रिया सुरु गर्ने, नगरपालिकालाई आवश्यक ऐनकानुन बनाई पछि अनुमोदन गराउने गरी लागु गर्ने, आगामी आर्थिक वर्षको काम गर्न कार्यपालिकालाई अधिकार प्रत्यायोजन गर्ने, बालमैत्री नगरपालिका घोषणा गर्न बाँकी रहेका वडाको कार्य प्रारम्भ गर्ने, हेरफेर भएका करका दर स्वीकृत गर्ने निर्णय भएको छ ।
आगामी आर्थिक वर्षको आर्थिक विधेयक तथा विनियोजन विधेयक पारित गर्ने, कर्मचारीको तलबी प्रतिवेदन पास गरी तलबभत्ता खुवाउने, कर्मचारीको दरबन्दी पुनरावलोकन गर्ने, नियमित गर्नुपर्ने बेरुजु नियमित गर्नेलगायतका प्रस्ताव पारित गरिएको बताइएको छ ।