धनगढी । कैलालीको टीकापुर नगरपालिका वडा नंं. १ को वडा विभाजनका लागि राजनीतिक दलबिच भएको सहमति विवादमा तानिँदै गएको छ ।
स्थानीय राजनीतिक दलले दुई दिनअघि ५ वटा वडा बनाउने निर्णय गरे पनि त्यो तीन दिन टिकेन । राजनीतिक दलले तीन दिनपछि छ वटा वडा बनाउने सहमति गरेका छन् । कुल ५ वडामा सहमति गरेका राजनीतिक दलले वनगाउँका स्थानीयले नगरपालिकामा तालाबन्दी गरेपछि सहमति फेरेका हुन् ।
यता, छ वडा बनाउने सहमति गरेपछि टीकापुरका सबै पार्टीका युवाहरूले ६ वडाको विरोध गर्दै शुक्रबार नगरपालिकामा तालाबन्दी गरेका छन् । एमाले नेता श्याम खत्री सबैका आआफ्नै समस्या, स्वार्थ, माग र बुझाइका कारण राजनीतिक दल निर्णय बदल्न वाध्य भएका बताउनुभयो ।
‘नगरपालिकामा कुनै पनि दलको बहुमत छैन, हामी राजनीतिक दललाई सहमति गरिदिन आग्रह गरियो’ नेता खत्रीले भन्नुभयो– ‘सुरुमा पाँच वडामा सहमति दियौँ, फेरि विवाद भयो । बिहिबार आफ्नै निर्णय बदलेर छ वडा बनाउने सहमति ग¥याँै तर विवाद सकिएको छैन । यहाँ सबैका स्वार्थ रहेकाले समस्या भएको छ ।’
नेपाली काङ्गे्रसका क्षेत्रीय सभापति भूवनेश्वर अधिकारी भने वडा विभाजनजस्तो गम्भीर विषयमा आन्तरिक पार्टी र अन्तरपार्टीबिच बृहत् छलफल हुनुपर्ने भए पनि छलफलबिना निर्णय गर्दा द्वन्द्व सिर्जना हुने सङ्केत देखिएको बताउनुहुन्छ ।
‘वडा नं. १ ठुलो वडा हो । विकास निर्माण, सेवा प्रवाहमा समस्या छ । वडा विभाजन आवश्यक र गम्भीर विषय हो’ अधिकारीले भन्नुभयो– ‘बृहत् छलफलबिना निर्णय गरेकाले राजनीतिक दलको निर्णय टिक्न नसकेको हो । छलफलबाट गएको भए द्वन्द्व सिर्जना हुने अवस्था आउने थिएन ।’
वनगाउँका बडघर जीतबहादुर चौधरी भने ६ वडा बनाउने सहमतिलाई स्वागतयोग्य भन्दै सबैले समान रूपमा सेवासुविधा पाउने बताउनुहुन्छ ।
‘हामीले माग ग¥यौँ, राजनीतिक दलले सच्याएका छन्’ चौधरीले भन्नुभयो– ‘सबैले समान अवसर पाउने वातावरण बन्छ । छ वडा कार्यान्वयन हुनुपर्छ ।’
यसअघि नौ वडा मात्र रहेको टीकापुर नगरपालिका राजनीतिक दलले १५ वडा बनाउने सहमति दिएका छन् । राजनीतिक दलले वडा नं. १ लाई ६ र २ लाई २ वडामा विभाजन गर्ने सहमति दिएका छन् । (रासस)